राहत प्याकेजबारे बाइडेन र रिपब्लिकन सिनेटरबीच २ घण्टा छलफल, भएन कुनै सहमति
प्रकाशित मिति : माघ १९, २०७७ सोमबार
राहत प्याकेजबारे राष्ट्रपति जो बाइडेन र रिपब्लिकन सिनेटरहरुबीच झण्डै २ घण्टा लामो छलफल भएको छ । तर छलफलबाट कुनै सहमति भने हुन सकेन । रिपब्लिकन सिनेटर सुजन कोलिन्सको नेतृत्वमा गएको टोलीसँग बाइडेनले छलफल गरेका थिए ।
ओभल अफिसमा भएको छलफलमा बाइडेनले आफ्नो १ दशमलव ९ ट्रिलियनको प्रस्तावबारे विस्तारमा जानकारी दिए । रिपब्लिकन सिनेटरहरुले पनि महामारीको प्रभावबारे आफ्नो चासो व्यक्त गर्दै त्यसलाई सम्बोधन गर्न मिलेर काम गर्ने बताए ।
एकदमै राम्रो तरिकाले आफ्ना विचारहरु आदानप्रदान भएको सुजन कोलिन्सले बताइन् । आगामी दिनमा राहत प्याकेजबारे फ्लोअप गर्ने र छलफलहरु जारी राख्ने सहमति भएको उनले बताइन् । आज दिउसो जो बाइडेनले राहत प्याकेजबारे ट्वीट गर्दै तुरुन्त पारित गर्न संसदलाई आव्हान गरको थिए ।
राहत रकम कम बनाउनुपर्ने बताउँदै आएका रिपब्लिकनको सहमति विना नै राहत प्याकेज पारित गर्नका लागि डेमोक्रेटिक सांसदहरुले संसदमा बजेट प्रस्ताव ल्याइसकेका छन् ।
बजेट प्रकृयाबाट अगाडि बढ्नका लागि सिनेटमा सामान्य बहुमत भए पुग्ने भएकाले र त्यसका लागि रिपब्लिकनको समर्थन आवश्यक नपर्ने भएकाले यो प्रकृयाबाट अगाडि बढ्न कदम चालिएको हो । न्यूनतम पारिश्रमिक घण्टाको १५ डलर बनाउने नीतिगत विषय भने बजेट प्रकृयाबाट पारित गर्न नसकिने भएकाले यो बाहेक अन्य विषय समेटेको ड्राफ्ट बनाउन प्रस्तावमार्फत कमिटिहरुलाई निर्देशन दिएको छ ।
डेमोक्रेटिक सांसदहरु र राष्ट्रपति जो बाइडेनले १४ सय डलरको राहत चेकसहितको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेज प्रस्ताव ल्याइरहँदा रिपब्लिकनहरुले पनि आजै आफ्नो प्याकेज प्रस्ताव सार्वजनिक गरेका थिए । सार्वजनिक प्याकेज प्रस्तावमा १ हजारको मात्र राहत चेक उपलब्ध गराउने र ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाईमात्र दिनुपर्ने उल्लेख छ ।
राष्ट्रपति बाइडेनसँगको भेट अगाडि रिपब्लिकन सांसदहरुले झण्डै ६१८ बिलियन डलरको राहत प्याकेज प्रस्ताव सार्वजनिक गरेका थिए । यो प्रस्तावमा काम गुमाएकाहरुलाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर जुनसम्म प्रदान गर्ने, २० बिलियन डलर चाइल्ड केयर र स्कुलमा, ५० बिलियन साना व्यवसायलाई र १६० बिलियन भ्याक्सिन लगायतलाई उपलब्ध गराउने उल्लेख छ । डेमोक्र्याट्सको योजनामा साप्ताहिक ४ सय सेप्टेम्बरसम्म दिने उल्लेख छ ।

रिपब्लिकनको प्रस्तावमा ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाई १ हजार डलरको चेक प्रदान गरिने र ५० हजारसम्म आम्दानी हुनेहरुले आंशिक रुपमा उक्त रकम प्राप्त गर्ने उल्लेख छ ।
डिपेन्डेन्ट बालबालिकाहरुका लागि ५ सय डलर प्रदान गर्ने प्याकेज प्रस्तावमा उल्लेख छ । डेमोक्र्याट्सको योजना अनुशार २ बच्चा भएका विवाहित दम्पत्तिले ५६ सय डलरसम्म पाउनेछन् । तर रिपब्लिकनको योजना अनुशार उनीहरुले ३ हजार डलरसम्म पाउनेछन् ।
डेमोक्र्याट्सको प्रस्तावमा चाइल्ड ट्याक्स क्रेडिट बढाएर ६ बर्षमुनीका बालबालिकाहरुका लागि ३६ सय डलर र अन्य बालबालिकाहरुका लागि ३ हजार डलर बनाउने उल्लेख छ ।
रिपब्लिकनले समर्थन नगरेको खण्डमा बजेट प्रकृयाबाट ५१ मतबाटै राहत प्याकेज पारित गर्ने डेमोक्र्याट्सहरुले तयारी गरिरहँदा राष्ट्रपति जो बाइडेनसँग छलफलका हुन लागेको हो । ह्वाइटहाउसलाई पठाएको पत्रमा रिपब्लिकन सिनेटरहरु टोड यांग, माइक राउण्डस, मिट रोम्नी, शेली मुर क्यापिटो, जेरी मोरन, थम टिल्स लगायतले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा रहेको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज प्रतिनिधिसभाबाट पारित गर्न त सहज छ । तर सिनेटमा फिलिबस्टर भोटको आवश्यकता पर्ने भएकाले उक्त ६० भोट जुटाउनका लागि १० जना रिपब्लिकन सांसदहरुलाई मनाउनुपर्ने हुन्छ । त्यसका लागि प्याकेजको रकम घटाउन रिपब्लिकन सांसदहरुले माग गरेका छन् । अन्यथा ६० भोटको थ्रेसहोल्डलाई बाइपास गर्नका लागि बजेट प्रकृया अगाडि बढाउनुपर्ने हुनसक्छ ।
यदि रिपब्लिकनको समर्थन प्राप्त नभएको खण्डमा डेमोक्र्याट्सले फिलिबस्टर भोटलाई बाइबास गर्ने संसदीय विधि अपनाउन सक्नेछन् । बजेट प्रावधान अनुशार अगाडि बढेको खण्डमा सामान्य बहुमतबाट पनि बिल पारित हुनसक्नेछ । तर सकभर डेमोक्र्याट्सहरु दुईदलीय सहमति खोजेर अगाडि बढ्ने पक्षमा रहेका छन् ।
सिनेटको बजेट कमिटिको अध्यक्षता गर्ने सिनेटर बर्नी स्याण्डर्सले पनि रिपब्लिकनलाई सहमत बनाउने प्रयास फलदायी नभएको खण्डमा फिलिबस्टर भोटलाई बाइपास गर्ने बजेटको संसदीय प्रकृया अपनाउनुपर्ने बताएका छन् ।





