रिपब्लिकन राहत प्याकेज प्रस्ताव सार्वजनिक, ४० हजारभन्दा कम आम्दानी हुनेलाई १ हजार
प्रकाशित मिति : माघ १९, २०७७ सोमबार
डेमोक्रेटिक सांसदहरु र राष्ट्रपति जो बाइडेनले १४ सय डलरको राहत चेकसहितको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेज प्रस्ताव ल्याइरहँदा रिपब्लिकनहरुले आफ्नो प्याकेज प्रस्ताव सार्वजनिक गरेका छन् । आज सार्वजनिक प्याकेज प्रस्तावमा १ हजारको मात्र राहत चेक उपलब्ध गराउने र ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाईमात्र दिनुपर्ने उल्लेख छ ।
राष्ट्रपति बाइडेनसँगको भेट अगाडि रिपब्लिकन सांसदहरुले झण्डै ६१८ बिलियन डलरको राहत प्याकेज प्रस्ताव सार्वजनिक गरेका हुन् । यो प्रस्तावमा काम गुमाएकाहरुलाई बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर जुनसम्म प्रदान गर्ने, २० बिलियन डलर चाइल्ड केयर र स्कुलमा, ५० बिलियन साना व्यवसायलाई र १६० बिलियन भ्याक्सिन लगायतलाई उपलब्ध गराउने उल्लेख छ । डेमोक्र्याट्सको योजनामा साप्ताहिक ४ सय सेप्टेम्बरसम्म दिने उल्लेख छ ।
आइतबार १० जना रिपब्लिकन सांसदले यो राहत प्याकेज प्रस्तावमा छलफलका लागि अनुरोध गर्दै बाइडेनलाई पत्र लेखेका थिए । बाइडेनले आज सोमबार बेलुका ती रिपब्लिकन सांसदहरुलाई भेट्ने भएका छन् । १० जना रिपब्लिकन सिनेटरको समर्थन भएमा फिलिबस्टर मतबाट प्याकेज पारित हुने सम्भावना भएकाले दुईदलीय सहमतिका लागि १० जना रिपब्लिकन सांसदहरुले ह्वाइटहाउसलाई पत्र लेखेका हुन् ।
रिपब्लिकनको प्रस्तावमा ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाई १ हजार डलरको चेक प्रदान गरिने र ५० हजारसम्म आम्दानी हुनेहरुले आंशिक रुपमा उक्त रकम प्राप्त गर्ने उल्लेख छ ।

डिपेन्डेन्ट बालबालिकाहरुका लागि ५ सय डलर प्रदान गर्ने प्याकेज प्रस्तावमा उल्लेख छ । डेमोक्र्याट्सको योजना अनुशार २ बच्चा भएका विवाहित दम्पत्तिले ५६ सय डलरसम्म पाउनेछन् । तर रिपब्लिकनको योजना अनुशार उनीहरुले ३ हजार डलरसम्म पाउनेछन् ।
डेमोक्र्याट्सको प्रस्तावमा चाइल्ड ट्याक्स क्रेडिट बढाएर ६ बर्षमुनीका बालबालिकाहरुका लागि ३६ सय डलर र अन्य बालबालिकाहरुका लागि ३ हजार डलर बनाउने उल्लेख छ ।
रिपब्लिकनले समर्थन नगरेको खण्डमा बजेट प्रकृयाबाट ५१ मतबाटै राहत प्याकेज पारित गर्ने डेमोक्र्याट्सहरुले तयारी गरिरहँदा राष्ट्रपति जो बाइडेनसँग छलफलका हुन लागेको हो । ह्वाइटहाउसलाई पठाएको पत्रमा रिपब्लिकन सिनेटरहरु टोड यांग, माइक राउण्डस, मिट रोम्नी, शेली मुर क्यापिटो, जेरी मोरन, थम टिल्स लगायतले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा रहेको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज प्रतिनिधिसभाबाट पारित गर्न त सहज छ । तर सिनेटमा फिलिबस्टर भोटको आवश्यकता पर्ने भएकाले उक्त ६० भोट जुटाउनका लागि १० जना रिपब्लिकन सांसदहरुलाई मनाउनुपर्ने हुन्छ । त्यसका लागि प्याकेजको रकम घटाउन रिपब्लिकन सांसदहरुले माग गरेका छन् । अन्यथा ६० भोटको थ्रेसहोल्डलाई बाइपास गर्नका लागि बजेट प्रकृया अगाडि बढाउनुपर्ने हुनसक्छ ।
यदि रिपब्लिकनको समर्थन प्राप्त नभएको खण्डमा डेमोक्र्याट्सले फिलिबस्टर भोटलाई बाइबास गर्ने संसदीय विधि अपनाउन सक्नेछन् । बजेट प्रावधान अनुशार अगाडि बढेको खण्डमा सामान्य बहुमतबाट पनि बिल पारित हुनसक्नेछ । तर सकभर डेमोक्र्याट्सहरु दुईदलीय सहमति खोजेर अगाडि बढ्ने पक्षमा रहेका छन् ।
सिनेटको बजेट कमिटिको अध्यक्षता गर्ने सिनेटर बर्नी स्याण्डर्सले पनि रिपब्लिकनलाई सहमत बनाउने प्रयास फलदायी नभएको खण्डमा फिलिबस्टर भोटलाई बाइपास गर्ने बजेटको संसदीय प्रकृया अपनाउनुपर्ने बताएका छन् ।






