म्यानमारमा सेनाबाट सत्ता कब्जा, एकबर्षका लागि संकटकाल घोषणा
प्रकाशित मिति : माघ १८, २०७७ आईतबार
म्यानमारमा सेनाले सत्ताकब्जा गरेको पुष्टि गरेको छ। सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।
म्यानमारकी नेतृ आङ सान सू ची र अन्य सरकारी उच्च पदस्थहरुलाई त्यहाँको सेनाले पक्राउ गरेको लगत्तै संकटकालको घोषणा गरेको हो । सेना र नागरिक सरकारबीच उत्पन्न तनावपछि सेनाले उनीहरुलाई हिराशतमा लिएको हो । सेनाले त्यहाँको चुनावमा धाँधली भएको बताउँदै आएको थियो ।
नयाँ निर्वाचित तल्ल सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने तय भएको थियो। सेनाले उक्त बैठक स्थगित गर्न माग गर्दै आएको थियो।
गत नोभेम्बरमा भएको चुनावमा नेशनल लिग फर डेमोक्रेसीले विजयी भएको घोषणा गरेको थियो । म्यानमारमा सैन्य शासनको अन्त्य भएयताको यो दोश्रो चुनाव थियो । बर्माका रुपमा चिनिने म्यानमारमा सन् २०११ सम्म शैन्य शासन रहेको थियो ।

आङ सान सू ची सहित राष्ट्रपति यू वीन मिन्टलाई पनि गिरफ्तार गरिएको छ । सोमबार विहानै उनीहरुलाई सेनाले गिरफ्तार गरेको हो । उनीहरुको गिरफ्तारीपछि राजधानीका सडकहरुमा सेनाहरु मार्चपास गरिरहेका छन् । म्यानमारको राजधानीमा इन्टरनेट र फोन लाइन पनि काटिएको छ । सेनाले मुख्यमन्त्रीहरुका घरघरमा पुगेर उनीहरुलाई पनि गिरफ्तार गरेका छन् ।
जनवरी २९ मा म्यानमारमा रहेका अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया लगायतका १६ अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरुले त्यहाँको सेनालाई प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्न आग्रह गर्दै संयुक्त वक्तब्य निकालेका थिए । उनीहरुले चुनावको नतिजा बदल्न वा म्यानमारको लोकतान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको विरोध गर्ने बताएका थिए ।

आङ सान सू ची म्यानरमा प्रजातन्त्रपवादी नेतृका रुपमा परिचित थिइन् । उनले झण्डै २ दशक नजरबन्दमा बिताएकी थिइन् । सन् २०१५ मा उनको पार्टीले भारी जीत हासिल गरेपछि उनी स्टेट काउन्सिलरका रुपमा प्रधानमन्त्री सरहको पदमा रहेकी थिइन् । राष्ट्रपति हुनमा उनलाई रोक लगोपछि संवैधानिक छिद्रको प्रयोग गरेर यो पद श्रृजना गरिएको थियो ।
पछिल्लो समयमा रोहिंग्या मुस्मिल समुदायमाथि नरसंहारको आरोपको कारण उनको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहको थियो ।





