दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको प्रकार अमेरिकामा, यसबिरुद्ध चारवटै भ्याक्सिन कम प्रभावकारी
प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार
दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ प्रकार बिहिबार अमेरिकामा पनि भेटिएको पुष्टी भएको छ । साउथ क्यारोलिनामा दुईजनामा कोरोनाको नयाँ प्रकार भेटिएसँगै अमेरिकामा यो समुदायमा फैलिन थालेको विश्वास गरिएको छ । संक्रमित दुबैजना व्यक्तिले एकअर्कालाई नचिन्ने र दुबैजनाले दक्षिण अफ्रिकाको भ्रमण नगरेका कारण कोरोनाको उक्त प्रकारमा समुदायमा फैलिइसकेको सीडीसीका निर्देशक रोशेल वालेन्सीले बताएका छन् ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको यो प्रकार बढी संक्रामक तर कम रोगजनक भएको बताइएको छ । यद्यपी यो प्रकारबिरुद्ध कोरोनाबिरुद्धका कम्तीमा ४ वटा भ्याक्सिनको प्रभावकारिता भने कम देखिएको छ । कोरोनाबिरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको अमेरिकन भ्याक्सिन मोडेर्नाले दक्षिण अफ्रिकामा भेटिएको प्रकारबिरुद्ध आफ्नो भ्याक्सिन कम प्रभावकारी रहेको बताएको छ ।

त्यस्तै कोरोनाबिरुद्धको उच्च प्रभावकारी रहेको फाइजर भ्याक्सिनले पनि प्रारम्भिक अध्ययनमा आफ्नो भ्याक्सिन दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको प्रकारबिरुद्ध कम प्रभावकारी रहेको बताएको छ । कोरोनाबिरुद्ध झण्डै ९० प्रतिशत प्रभावकारी रहेको नोभाभ्याक्स भ्याक्सिनले पनि दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको प्रकारबिरुद्ध ५० प्रतिशतभन्दा कम प्रभावकारी रहेको बताएको छ ।
जोन्सन एण्ड जोन्सनले पनि आफ्नो भ्याक्सिन दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको प्रकारबिरुद्ध तुलनात्मक रुपमा कम प्रभावकारी रहेको बताएको छ । तर त्यहाँ पनि यो भ्याक्सिन लगायतका कोही व्यक्ति कोरोनाका कारण अस्पताल भर्ना भएका छैनन् भने कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

अहिलेसम्म अमेरिकामा दुईवटामात्र भ्याक्सिन मोडेर्ना र फाइजरले प्रयोगको अनुमति पाएका छन् । विश्वमा १२ वटा भ्याक्सिनहरु तेश्रो चरणको क्लीनिकल परीक्षणमा नै छन् । १८ वटा भ्याक्सिनहरु दोश्रो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् भने १४ वटा भ्याक्सिनहरु पहिलो चरणको क्लीनिकल परीक्षणमा रहेका छन् ।
फाइजर र मोडेर्ना दुबै न्युक्लीक एसिड विधिको प्रयोगबाट बनाइएका भ्याक्सिन हुन् । आष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनका भ्याक्सिन भाइरल भेक्टर विधिबाट बनाइएको हो । भारत बायोटेक, सिनोफार्म, सिनोभ्याक भाइरस विधिबाट बनाइएको छ, जसमा भाइरसलाई कमजोर वा निस्कृय बनाएर भ्याक्सिनमा प्रयोग गरिन्छ । कमजोर वा निस्कृय बनाइएको भाइरसबाट रोग लाग्ने खतरा भने हुँदैन ।






