अमेरिकाको जर्जियामा खाद्य प्रशोधन केन्द्रमा नाइट्रोजन चुहिंदा कम्तीमा ६ जनाको मृत्यु
प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार
अमेरिकाको जर्जिया गिन्सभिलमा एउटा खाद्य प्रशोधन केन्द्रमा तरल नाइट्रोजन चुहिंदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अन्य १० जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
आज विहान सबा १० बजेतिर हल काउन्टी र गिन्सभिलको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुग्दा त्यहाँ कामदारलाई बाहिर निकालिएको थियो भने घटनास्थलमा नै ५ जनाको मृत्यु भएको थियो । एकजनाको मृत्यु नर्थइस्ट जर्जिया हेल्थ सिस्टम अस्पतालमा भएको हो ।

४ जना अग्नीनियन्त्रकहरुलाई पनि स्वासप्रस्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएकामध्ये तीनजनाको अवस्था गम्भिर रहेको छ । एकजनालाई इमर्जेन्सीमा र ५ जनालाई सामान्य वार्डमा भर्ना गरिएको छ ।
नाइट्रोजन चुहिंदा कुनै बिष्फोट भने नभएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । गिन्सभिल एटलान्टाबाट झण्डै ६० माइल उत्तरपूर्वमा रहेको छ ।






