निजी जेलसँगको सम्झौता समाप्त गर्न डिपार्टमेन्ट अफ जस्टिसलाई राष्ट्रपति बाइडेनको निर्देशन


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले निजी जेलसँगको सम्झौता समाप्त गर्न डिपार्टमेन्ट अफ जस्टिसलाई निर्देशन दिएका छन् । बाइडेनले जातीय न्यायाको एजेण्डा अन्तरगत अपराधीहरुलाई राख्नका लागि बनाइएका निजी जेलसँगका सम्झौता नविकरण नगर्न निर्देशन दिएका हुन् ।

बाइडेनले आज जारी गरेका जातीय समानताबारेका ४ कार्यकारी आदेशमध्ये यो एउटा हो । अमेरिकाको जेल प्रणाली निरन्तर विवादमा आउने गरेको छ । त्यसमा सुधारका लागि बाइडेनको यो कदम आएको हो । बाइडेनले आज विभेदकारी आवासको अभ्यास, जेल प्रणालीमा सुधार, विशेषगरी महामारीका कारण एसियन अमेरिकनबिरुद्धको पक्षपातपूर्ण व्यवहार अन्त्यका लागि कार्यकारी आदेशहरु जारी गरेका हुन् ।

हरेक दिन कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबारसम्म हरेक दिन कार्यकारी आदेश जारी गर्ने भएका छन् । हरेक दिनका लागि कार्यकारी आदेश जारी गर्नका लागि फरक फरक विषय छुट्याइएको छ ।

बुधबार बाइडेनले जलवायु परिवर्तनबारेका कार्यकारी आदेश जारी गर्नेछन् । जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षा प्राथमिकताका रुपमा स्तरोन्नती गर्ने तथा घरेलु रुपमा जलवायु परिवर्तनबिरुद्ध लड्ने विभिन्न कदमहरु बाइडेनले चाल्ने अपेक्षा गरिएको छ ।

बिहिबार हेल्थकेयरबारेका कार्यकारी आदेश जारी गर्ने अपेक्षा गरिएको छ । ट्रम्पले गर्भपतनसम्बन्धि काम गर्ने संस्थाहरुलाई अमेरिकी सहायतारकम उपलब्ध नगराउने नीति ल्याएकोमा बाइडेनले त्यसलाई उल्टाउने अपेक्षा गरिएको छ । बाइडेनले मेडिकेडलाई सुदृढ गर्ने लगायतका कार्यकारी आदेश जारी गर्ने जनाइएको छ ।

शुक्रबार बाइडेनले अध्यामगनबारेका कार्यकारी आदेशहरु जारी गर्ने जनाइएको छ । बाइडेनले केही एसाइलम सम्बन्धि कार्यकारी आदेश जारी गर्नेछन् भने ट्रम्प कार्यकालमा विछोडिएका परिवारको पुनर्मिलनका लागि टास्क फोर्स समेत बनाउने अपेक्षा गरिएको छ ।

नागरिकताको प्रकृयाको पुनरावलोकन र पब्लिक चार्जको नियमको पुनरावलोकनका सन्दर्भमा पनि बाइडेनले शुक्रबार नै कार्यकारी आदेश जारी गर्ने अपेक्षा गरिएको छ । शुक्रबार नै शरणार्थी सम्बन्धि कार्यकारी आदेश जारी गर्ने बताइएपनि उक्त आदेश भने अर्को साताका लागि समेत पछि सार्न सकिने जनाइएको छ ।

हिजो जारी कार्यकारी आदेशहरु

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो तीनवटा महत्वपूर्ण कार्यकारी आदेश जारी गरेका थिए ।

हिजो बाइडेनले अमेरिकन उत्पादनलाई प्रोत्साहन गर्ने ‘मेड इन अमेरिका’ कार्यकारी आदेश जारी गरे  । सामान र श्रम खरिदमा अमेरिकन कम्पनीहरुलाई जाने संघीय खर्च बृद्धि गर्ने आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्दै बाइडेनले कार्यकारी आदेश जारी गरेका हुन् ।

बाइडेनले अमेरिकन एजेन्सीहरुलाई आफ्ना सामान र सेवा अमेरिकी कामदार र विजनेशबाट लिनुपर्ने प्रावधान लागु गराउन कार्यकारी आदेश जारी गरेका हुन् । अमेरिकन सप्लाई चेनहरुले अत्यावश्यक रहेका पीपीई लगायतका सामाग्रीहरु विदेशी कम्पनीबाट खरिद गर्ने सार्वजनिक भए लगत्तै र अमेरिकी सरकारले कोरोनाबिरुद्धको लडाईमा बृहतरुपमा खर्च गर्ने योजनाका बीच बाइडेनको कदम आएको हो ।

कार्यकारी आदेशको पूर्ण पाठ

संघीय सरकारले बर्षेनी झण्डै ६ सय बिलियन डलर यस्ता ठेक्कामा खर्च गर्दै आएको छ । र कति रकम विदेशी उत्पादनमा खर्च गर्न सकिने र कति सामाग्री अमेरिकामा जडान गर्नेगरी ल्याउन सकिने भन्ने सन्दर्भमा अमेरिकी करदाताको रकम कसरी खर्च गर्ने भन्ने नियम रहेको छ । तर केही छुट र छिद्रका कारण नियमले तोकेभन्दा धेरै विदेशी उत्पादन खरिद हुँदै आएको छ ।

बाइडेनको कार्यकारी आदेशले त्यस्ता छुट र छिद्रलाई बन्द गर्ने अपेक्षा गरिएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सन् २०१७ मा अमेरिकन उत्पादन खरिदलाई बढावा दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । तर ट्रम्प प्रशासनले अमेरिकी उत्पादनको खरिदमा उल्लेख्य प्रगति भने गर्न सकेन ।

हिजै बाइडेनले कोरोनाको महामारी फैलिनबाट रोक्ने उद्देश्यले ३० देशबाट अमेरिका आउनमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे । बाइडेनले युरोपका शेंगेन क्षेत्रका २६ देशहरु, यूके, आयरल्याण्ड, ब्राजिलसहित दक्षिण अफ्रिकालाई पनि प्रतिबन्धको सुचीमा थपेका छन् । चीन र इरानमाथि ट्रम्पले लगाएकै कार्यकारी आदेशको रोक जारी छ ।

राष्ट्रपतिको पदावधि सकिन २ दिनभन्दा पनि कम समय बाँकी रहँदा डोनाल्ड ट्रम्पले जनवरी २६ देखि लागु हुने गरी शेंगेन क्षेत्रका २६ देशहरु, यूके, आयरल्याण्ड, ब्राजिलमाथिको प्रतिबन्ध हटाएका थिए । तर बाइडेनले ट्रम्पको उक्त आदेशलाई खारेज गर्दै ती देशहरुमाथिको प्रतिबन्ध कायमै राखेका छन् ।

कोरोनाको नयाँ प्रकार विश्वमा बढीरहेको सन्दर्भमा र महामारी खराब बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धहरु हटाउने उचित ठहर गर्दै दक्षिण अफ्रिकालाई समेत थपेर बाइडेन प्रशासनले प्रतिबन्ध कायम राखेको हो ।

कार्यकारी आदेशको पूर्ण पाठ

यो आदेशमार्फत अमेरिकी नागरिक, ग्रिनकार्डवाहक, अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका दम्पत्ति, २१ बर्ष नकाटेका अविवाहित अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका कानुनी अभिभावक वा बुबाआमा, २१ बर्ष नकाटेका अविवाहित अमेरिकी नागरिक र ग्रिनकार्डवाहकका दाजुभाई दिदीबहिनीहरु लगायतलाई भने अमेरिका आउनमा रोक लाग्नेछैन । त्यस्तै अन्य भिसामा आउनेहरुलाई पनि राष्ट्रिय रुचीको वेभर प्रदान गर्न सकिनेछ ।

अमेरिका आउने हरेक यात्रुको नेगेटिभ कोरोना रिपोर्ट अनिवार्य हुनुपर्ने मापदण्ड कार्यान्वयनमा आइसकेको छ । कोरोनाको महामारी फैलिनबाट रोक्न उडानमार्फत अमेरिका आउने हरेक यात्रुले प्रस्थानको तीनदिनभित्रको नेगेटिभ कोरोना रिपोर्ट बुझाउनु पर्ने मापदण्ड रहेको छ ।

ट्रम्पले गत मे २४ मा कार्यकारी आदेश जारी गरेर बेलायत, ब्राजिल, आयरल्याण्ड, २६ वटा युरोपेली देशहरु, इरान र चीनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए । यो आदेश ट्रम्पले आप्रवासनमा लगाएको रोकभन्दा फरक आदेश हो । ट्रम्पले कोरोनाको महामारीको कारण देखाउदै कामदार भिसा र विभिन्न प्रकारका ग्रिनकार्डमा लगाएको रोक भने मार्चको अन्तिम सम्म नै कायम छ ।

हिजै बाइडेनले अमेरिकी सेनामा तेश्रो लिगीमाथि डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई उल्टाए ।  एक कार्यकारी आदेशमार्फत बाइडेनले उक्त प्रतिबन्धलाई उल्टाएका हुन् । ट्रम्पले लगाएको प्रतिबन्धले अमेरिकी सेनामा सेवा गर्नमा तेश्रोलिंगीहरुलाई रोक लगाएको थियो ।

बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दा नयाँ रक्षामन्त्री लोयड अस्टिनको पनि उपस्थीति रहेको थियो । बाइडेनको नयाँ कार्यकारी आदेश अनुशार अब आफूलाई तेश्रो लिंगीका रुपमा चिनाउनेहरु सैन्य सेवामा प्रवेश गर्नका लागि अनुमति दिइनेछ ।

कार्यकारी आदेशको पूर्ण पाठ

आगामी ६० दिनभित्र सबै सैन्य निकायहरुले रक्षामन्त्रीलाई यो नियमको कार्यान्वयनका सन्दर्भमा गरेको प्रगतिविवरण समेत बुझाउनुपर्ने भएको छ । अमेरिकी सेनामा कतिजना तेश्रो लिंगीहरु सेवामा छन् भन्नेबारे स्पष्ट छैन । तर केही अधिकारकर्मी समुहहरुका अनुशार अमेरिकी सेनामा झण्डै १५ हजार तेश्रो लिंगीहरु रहेका छन् ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com