हाउसबाट पारित ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव आज सिनेटमा पठाइदै, ट्रायल फेब्रुअरी ९ बाट
प्रकाशित मिति : माघ १२, २०७७ सोमबार
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव आज सिनेटमा पठाइने भएको छ । हाउस स्पीकर न्यान्सी पेलोसीले आज न्युयोर्क समय अनुशार बेलुका ७ बजे महाभियोग प्रस्ताव सिनेटमा पठाउने जनाइएको छ ।
मंगलबार महाभियोगको मुद्दामा न्यायाधीशको रूपमा काम गर्ने सिनेटरहरुले शपथ लिने जनाइएको छ । तर महाअभियोगबारेको ट्रायल सिनेटमा फेब्रुअरी ९ बाटमात्रै सुरु हुनेछ । जसबाट ९ जना प्रतिनिधिसभाका महाभियोग मेनेजर र ट्रम्पको प्रतिरक्षा टिमलाई कानुनी तयारीहरु गर्न झण्डै २ साताको समय प्राप्त हुने भएको छ ।

बिद्रोहका लागि उत्तेजना फैलाएको आरोपमा ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव अमेरिकी संसदको प्रतिनिधिसभाबाट पारित भएको थियो । जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगाफसादमा ट्रम्पलाई हिंशा भड्काएको आरोप छ ।
ट्रम्पबिरुद्धको महाभियोग प्रस्ताव जनवरीको दोश्रो साता संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको थियो । महाभियोग प्रस्तावका पक्षमा २३२ र विपक्षमा १९७ मत खसेको थियो । ४ जना रिपब्लिकन मतदानमा सहभागी भएनन् ।
प्रस्तावबारे छलफलमा डेमोक्रेटिक सांसदहरुले ट्रम्प पक्षधर आक्रमणकारीहरु आतंकारीहरु भएको र उनीहरुलाई ट्रम्पबाट कट्टर बनाइएको बताएका थिए । अमेरिकामा मेक अमेरिका ग्रेट अगेन नामको गृहयुद्ध सुरु गर्न खोजिएको उनीहरुले आरोप लगाएका थिए ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ
ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाभियोग प्रस्ताव ल्याइएको हो । दुईपटक नै महाभियोग प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।
महाभियोग पदमुक्त गर्ने प्रकृयामात्र नभएकाले ट्रम्पको पदावधी सकिएपछि पनि यसको प्रकृया अगाडि बढ्ने भएको छ । त्यस्तै महाभियोग सिनेटबाट पनि पारित भएमा ट्रम्पलाई अर्कोपटक चुनावमा उठ्न पनि स्वत पूर्णरुपमा प्रतिबन्ध भने नलाग्ने जनाइएको छ । यसबारे संविधानमा कुनै कुरा उल्लेख छैन । तर कसैलाई सार्वजनिक पद धारणबाट रोक लगाउनका लागि सामान्य बहुमतबाट निर्धारण गर्न सकिन्छ ।






