ट्रम्पका वकिलबिरुद्ध चुनावमा मतदान मेसिन बनाउने कम्पनीबाट १.३ बिलियनको मानहानी मुद्दा
प्रकाशित मिति : माघ १२, २०७७ सोमबार
अमेरिकाको राष्ट्रपति चुनावका लागि मतदान मेसिन र गणना गर्ने मेसिन उत्पादन गरेको डोमिनियम मतदान प्रणालीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी जुलियानीबिरुद्ध मानहानीको मुद्दा हालेको छ । कम्पनीले जुलियानीबिरुद्ध १ दशमलव ३ बिलियनको मानहानीको मुद्दा हालेको हो ।
मतदातालाई भ्रमपार्ने तरिकाले र कम्पनीलाई नोक्सान पुग्नेगरी डोमिनियन मतदान प्रणालीबिरुद्ध झुठो बोलेको दावीसहित मानहानीको मुद्दा दायर गरिएको हो । मतदानमा धाँधली भएको र मेसिनमा गढबढ गरिएको भन्दै ट्रम्प र उनका वकिलले बारम्बार आरोप लगाउँदै आएका छन् ।

बाइडेनलाई जीताउन मेसिनमा गढबढी गरिएको भन्दै पैसाको लालचमा ट्रम्पका वकिल जुलियानीले भयानक झुठो बोलेको तथा आर्थिक रुपले आफूलाई समृद्ध बनाउन र आफ्नो सार्वजनिक प्रोफाइल कायम राख्न जुलियानीले यसो गरेको डोमिनियम मतदान प्रणालीले जनाएको छ ।
वासिंटन डिसीको युएस डिस्ट्रिक्ट कोर्टमा सोमबार मुद्दा दायर गरिएको छ । १०७ पृष्ठ लामो उक्त मुद्दामा जुलियानीको भ्रमपूर्ण अभियानका कारण कर्मचारीहरुलाई पिछा गरिएको, धम्की दिइएको र उत्पीडनमा पारिएको दावी गरिएको छ ।





