प्रत्येक बच्चाका लागि ३ हजारदेखि ३६ सय डलर प्रदान गर्ने बिलको तयारीमा डेमोक्र्याट्स
प्रकाशित मिति : माघ १०, २०७७ शनिबार
अमेरिकामा हरेक करदाताका बच्चाका लागि ३ हजारदेखि ३६ सय डलर प्रदान गर्ने बिलका लागि डेमोक्रेटिक सांसदहरुले गृहकार्य गरिरहेका छन् ।
‘अमेरिकन परिवार ऐन’ को ड्राफ्ट प्रस्तावमा ६ बर्षभन्दा कम उमेरका बच्चाका लागि मासिक ३ सय डलरका दरले ३६ सय डलर र ६ बर्षदेखि १७ बर्षसम्मका बच्चाका लागि मासिक २५० डलरका दरले ३ हजार डलर पठाउने उल्लेख छ । बिल पारित भएमा आईआरएसले यो रकम ती परिवारहरुको खातामा जम्मा गरिदिनेछ ।
अहिलेका लागि यो परिवर्तन कम्तीमा एकबर्षका लागि ल्याउन लागिएको छ । तर डेमोक्र्याट्सहरुले यो व्यवस्था स्थायी बनाउन चाहेको समेत बताएका छन् । यो बिललाई १ दशमलव ९ ट्रिलियन डलरकै राहत प्याकेजमा समावेश गर्नका लागि काम भइरहेको जनाइएको छ ।
करदातालाई मासिक नभई एकमुष्ठ रकम लिनका लागि समेत विकल्प दिइने जनाइएको छ । वर्तमान कर कानून अन्तरगत चाइल्ड ट्याक्स क्रेडिट रिफण्डेवल छैन । नयाँ योजना अनुशार परिवारहरुलाई रकम प्राप्त गर्नुअगाडि ट्याक्स फाइल गर्न आवश्यक हुनेछैन ।
बाइडेनले गतमहिना पनि आफूले चाइल्ड ट्याक्स क्रेडिटको बृद्धिका लागि पहल गर्ने बताएका थिए । यो प्रस्ताव अहिले छलफलकै क्रममा रहेको र छिट्टै ड्राफ्ट तयार गरिने जनाइएको छ ।
के हुँदैछ १४ सय डलरको राहत चेक?
केही मुख्य रिपब्लिकन सांसदहरुले १४ सय डलरको राहत चेकसहितको प्याकेज पारित हुन महिनौं लाग्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले २ हजार डलरको राहत चेकको प्रतिबद्धता जनाएका छन्, जसमध्ये ६ सय डलरको राहत चेक अधिकांशले प्राप्त गरिसकेका छन् ।
राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा रहेको १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज प्रतिनिधिसभाबाट पारित गर्न त सहज छ । तर सिनेटमा फिलिबस्टर भोटको आवश्यकता पर्ने भएकाले उक्त ६० भोट जुटाउनका लागि १० जना रिपब्लिकन सांसदहरुलाई मनाउनुपर्ने हुन्छ । त्यसका लागि प्याकेजको रकम घटाउनुपर्ने हुनसक्छ । अन्यथा ६० भोटको थ्रेसहोल्डलाई बाइपास गर्नका लागि बजेट प्रकृया अगाडि बढाउनुपर्ने हुनसक्छ ।
सबैभन्दा उदार मध्येकी एक रिपब्लिकन सिनेटर सुजन कोलिन्सले आफूले भ्याक्सिन फण्ड बढाउनुपर्नेमा सहानुभूति राख्ने भएपनि यति ठूलो प्याकेज आवश्यक नभएको बताएकी छिन् । भर्खरै ९ सय बिलियनको राहत प्याकेज पारित भएको अवस्थामा तत्कालै ठूलो प्याकेज पारित गर्न आवश्यक नभएको र त्यसका लागि केही महिना लाग्नसक्ने बताएकी छिन् ।
त्यस्तै उदार मानिने रिपब्लिकन सिनेटर लिसा मुर्कोस्कीले बाइडेनको आव्हान महत्वपूर्ण भएको बताएपनि ९ सय बिलियनको राहत प्याकेजको मसी सुक्न नपाएको बताएकी छिन् । उनले उचित रकमको राहत प्याकेज आवश्यक हुने बताएकी छिन् ।

त्यस्तै रुढीबादी र पार्टीलाइन विपरित अगाडि बढ्ने रिपब्लिकन सिनेटर मिट रोम्नीले अर्को एक ट्रिलियन वा ५ सय बिलियनको विशाल राहत प्याकेज तत्काल चाहिने पक्षमा आफू नरहेको बताएका छन् । अर्थतन्त्र कोरोनाका कारण पछाडि परेको तर राहत नदिएका कारण पछाडि नपरेको बताएका छन् । सबैले भ्याक्सिन लगाएपछि अर्थतन्त्र सुदृढ हुने उनले बताए ।
यदि रिपब्लिकनको समर्थन प्राप्त नभएको खण्डमा डेमोक्र्उाट्सहरुले फिलिबस्टर भोटलाई बाइबास गर्ने संसदीय विधि अपनाउन सक्नेछन् । बजेट प्रावधान अनुशार अगाडि बढेको खण्डमा सामान्य बहुमतबाट पनि बिल पारित हुनसक्नेछ । तर सकभर डेमोक्र्याट्सहरु दुईदलीय सहमति खोजेर अगाडि बढ्ने पक्षमा रहेका छन् ।
सिनेटको बजेट कमिटिको अध्यक्षता गर्ने तय भएका सिनेटर बर्नी स्याण्डर्सले पनि रिपब्लिकनलाई सहमत बनाउने प्रयास फलदायी नभएको खण्डमा फिलिबस्टर भोटलाई बाइपास गर्ने बजेटको संसदीय प्रकृया अपनाउनुपर्ने बताएका छन् ।
बाइडेनको १ दशमलव ९ ट्रिलिनयको प्याकेज योजनामा १४ सय डलरको राहत चेकका अतिरिक्त ४ सय बिलियन डलर विद्यालय खोल्न र भ्याक्सिनका लागि छुट्याइएको छ । त्यस्तै काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलरको प्रावधान रहेको छ ।
कतिपय प्रावधानहरु ट्याक्स र खर्चसँग सम्बन्धित भएको खण्डमा एक आर्थिक बर्षमा एकपटक बजेट प्रकृयाबाट पारित गर्नसकिने जनाइएको छ । तर संघीय पारिश्रमिक कम्तीमा प्रतिघण्टा १५ डलर बनाउने जस्ता नियामक प्रावधानहरुका लागि भने फिलिबस्टर ६० भोटको आवश्यकता हुनेछ ।





