राष्ट्रपति बाइडेन ‘मोटरकेड’ सहित ह्वाइटहाउस प्रवेश


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

राष्ट्रपति जो बाइडेन ‘मोटरकेड’ सहित ह्वाइटहाउस प्रवेश गरेका छन् । उनीहरुलाई १५ स्ट्रीटबाट ह्वाइटहाउससम्म विशेष ‘मोटरकेड’का साथ लगिएको हो । त्यहाँ अमेरिकी सेनाका हरेक शाखाको सहभागिता रहेको थियो भने सेनाका विशेष झाँकी र बाजागाजासहित ‘मोटरकेड’ अगाडि बढेको थियो ।

बाइडेनले बेलुका ५:१५ बजे ह्वाइटहासमा कार्यकारी आदेश र राष्ट्रपतीय कदमहरुमा हस्ताक्षर गर्ने भएका छन् । राष्ट्रपतिले आज अध्यागमन र जलवायु सम्बन्धित कार्यकारी आदेशहरु जारी गर्ने अपेक्षा गरिएको छ ।

आजै बाइडेनले कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउनेछन् । त्योबाहेक अन्य कैयन बिलका लागि समेत बाइडेनले समर्थन जनाउनेछन् ।

आज बाइडेनले संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्नेछन् । साथै पेरिस जलवायु सम्झौतामा पनि अमेरिकालाई पुन: सहभागी गराउनेछन् ।

डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध बाइडेनले हटाउनेछन् । राज्यहरुबीच यात्रा गर्दा र संघीय भूभागमा मास्क अनिवार्य गर्ने नियमको घोषणा गर्नेछन् । देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई थप गर्नेछन् ।

आज बेलुका ५ बजेर ४५ मिनेटमा बाइडेनले आफूले नियुक्त गरेका कर्मचारीहरुलाई सपथग्रहण गराउनेछन् । भर्चुअल रुपमा उनीहरुलाई सपथग्रहण गराउने कार्यक्रम छ ।

बेलुका ७ बजे ह्वाइट हाउस प्रेस सेक्रेटरीको पहिलो पत्रकार सम्मेलन आयोजना गरिदैछ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com