ट्रम्पलाई २५ औं संसोधन लगाएर हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव हाउसबाट पारित


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

❒ ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित

❒ २५ औं संसोधनको प्रयोग गरेर राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्तावलाई आफूले समर्थन नगर्ने उपराष्ट्रपति पेन्सबाट स्पष्ट

❒  ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा बुधबार मतदान हुने

❒  २५ औं संसोधन लगाएर आफूलाई हटाउनसक्ने जोखिम शुन्य रहेको र दोस्रो महाभियोगको प्रयासपनि अर्को ‘वीचहन्ट’ भएको ट्रम्पको भनाई

खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

आज डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संसोधन लगाएर ह्वाइटहाउसबाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आव्हान गर्ने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । दिनभरको छलफलपछि राती साढे १० बजेपछि प्रस्तावमा मतदान गरिएको थियो ।

प्रस्तावका पक्षमा २२३ मत खसेको छ भने विपक्षमा २०५ मत खसेको छ । एकजना रिपब्लिकन सांसदले प्रस्तावको पक्षमा मतदान गरेका छन् । अब प्रतिनिधिसभाको अर्को बैठक भोलि विहान ९ बजे बस्नेछ ।

जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगाफसादका लागि राष्ट्रपति ट्रम्पले उक्साएको भन्दै ट्रम्पलाई जनवरी २० अगाडि नै हटाउन यो प्रस्ताव ल्याइएको हो । २५ औं संसोधनले राष्ट्रपति काम गर्न अक्षम भएको अवस्थामा उनलाई हटाएर उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिका रुपमा काम गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रस्तावको पूर्ण पाठ

२५ औं संसोधनको प्रयोग गरेर ट्रम्पलाई हटाउन पेन्सलाई आग्रह गर्नेहरुको संख्या बढिरहँदा हिजो प्रतिनिधिसभामा यो प्रस्ताव पेश गरिएको थियो ।
हिजोको बैठकमा यो प्रस्ताव निर्विरोध पारित गराउनका लागि पेश गरिएपनि रिपब्लिकन सांसदको आपत्तिपछि निर्विरोध हुन सकेको थिएन ।

यसैबीच उपराष्ट्रपति माइक पेन्सले हाउस स्पीकर न्यान्सी पेलोसीलाई एक पत्र लेखेर २५ औं संसोधनको प्रयोग गरेर राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्तावलाई आफूले समर्थन नगर्ने बताइसकेका छन् । यस्तो तरिकाबाट राष्ट्रपतिलाई हटाउँदा एउटा भयानक नजिर स्थापना हुने पेन्सले बताएका छन् ।

राष्ट्रपतिले ट्रम्पले २५ औं संसोधन लगाएर आफूलाई हटाउनसक्ने जोखिम शुन्य रहेको र दोस्रो महाभियोगको प्रयासपनि अर्को ‘वीचहन्ट’ भएको बताएका छन् ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा बुधबार मतदान हुने भएको छ । महाअभियोग प्रस्तावबारेको छलफल र मतदानका लागि बुधबार विहान ९ बजे प्रतिनिधिसभाको बैठक बस्ने जनाइएको छ ।

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावको पाठ सार्वजनिक गरिसकिएको छ । विद्रोहका लागि उत्तेजना फैलाएको अभियोगसहितको महाअभियोग प्रस्तावको पूर्ण पाठ सार्वजनिक गरिएको हो ।

महाअभियोग प्रस्तावको पूर्ण पाठ

ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालमा दोश्रोपटक महाअभियोग प्रस्ताव ल्याइएको छ । बुधबार यसको प्रकृया अगाडि बढाउने क्रममा क्यापिटल हिलमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com