ट्रम्पका समर्थकको क्यापिटल हिलमा दंगाप्रति मेलानिया ट्रम्प ‘निराश र दु:खी’


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

पदावधी सकिन लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले क्यापिटल हिलमा मच्याएको दंगाप्रति उनकी पत्नी मेलानिया ट्रम्प निराश र दुखी भएकी छिन् । पहिलो सार्वजनिक प्रतिकृया व्यक्त गर्दै उनले दंगामा ६ जना व्यक्ति मारिएकोमा दुख व्यक्त गरेकी छिन् ।

ह्वाइट हाउसको वेवसाइटमा प्रकाशित वक्तब्य उनले ट्वीटरमा पोष्ट गरेकी छिन् । उनले भनेकी छिन् – ‘गत साता जे भयो, त्यसका लागि म अत्यन्तै दुखी र निराश छु । उक्त दुखद घटनाको सन्दर्भमा ममाथि भइरहेका अनावश्यक व्यक्तिगत आक्रमण र भ्रामक आरोपहरु सहितका गसिपहरु लज्जाजनक छन् ।’

मेलानिया ट्रम्पले भनेकी छिन् – ‘यो समय हाम्रो देश र नागरिकलाई निको पार्ने समय हो । यसलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्नु हुँदैन । म यो हिंशाको पूर्णरुपमा निन्दा गर्दछु ।’

व्यक्तिको छालाको रंग र फरक राजनीतिक विचारधाराको आधारमा आक्रमकता र क्रुरताको अनुमान गर्न नहुने उनले बताएकी छिन् । उनले अमेरिकनलाई विभाजन गर्ने कुरामा होइन, एकीकृत गर्ने कुरामा ध्यान केन्द्रीत गर्न सबैलाई आग्रह गरेकी छिन् ।

चुनावमा सहभागिताका लागि भएको उत्साह प्रेरणायुक्त रहेपनि उक्त उत्साहलाई हिंशामा परिणत गर्न दिन नहुने उनले बताएकी छिन् । आफूले प्रथम महिलाका रुपमा सेवा गर्न पाएकोमा जीवनकालका लागि सम्मान भएको मेलानिया ट्रम्पले बताएकी छिन् ।

अब ट्रम्पको कार्यकाल सकिन जम्मा ९ दिनमात्र बाँकी रहेको छ । जनवरी १९ मा नै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरेको जनाइएको छ । ट्रम्पले बाइडेनको सपथग्रहणमा भने सहभागी नहुने बताइसकेका छन् ।

बाइडेनले जनवरी २० मा सपथग्रहण गर्नेछन् । उक्त सपथग्रहण समारोहमा उपराष्ट्रपति माइक पेन्स लगायत पूर्व अमेरिकी राष्ट्रपतिहरु बराक ओबामा, जर्ज डब्ल्यु बुस र बिल क्लिन्टन समेत उपस्थीत हुने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com