बेलायती सेनाका पूर्व प्रमुखबाट मृत्यु अगाडि गोर्खाका नाममा २५ प्रतिशत सम्पत्ति उपहार


प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

बेलायती सेनाका एक पूर्व प्रमुखले आफ्नो सम्पत्तिको एक हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई उपहार दिएका छन् ।

गत नोभेम्बर महिनामा निधन भएका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो ४ लाख ८६ हजार २ सय ५९ पाउण्ड मूल्यको सम्पत्तिबाट एक चौंथाई ट्रस्टलाई प्रदान गरेका हुन् । उनी गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत थिए ।

निधन हुनु केहि पहिले लर्ड ब्रामलले आफ्नो मृत्युपश्चात सम्पत्ति ४ हिस्सा लगाएर सहयोग गर्ने ईच्छापत्र गराएका थिए । जसमा उनले गोर्खा वेल्फेयर ट्रस्ट र ह्याम्पशायरको अल सेन्ट चर्चलाई एकएक हिस्सा दिन चाहेका थिए भने बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति पनातिनाको लागि छुट्याएका थिए ।

गोर्खा वेल्फेयर ट्रस्टले लर्ड ब्रामलको सहयोग लिने कार्य अझै प्रक्रियामै रहेको बताएको छ ।

बेलायती सेनामा सेवाको क्रममा १० वर्ष गोर्खा राइफल्समा रहेर काम गरेका लर्ड ब्रामल गोर्खाहरुको साहस र इमान्दारीको प्रशंसक थिए । उनले कयौं अवसरमा गोर्खाहरुको खुलेरै तारिफ गर्ने गरेका थिए ।

सन् १९८५ मा सेनाबाट रिटायर्ड भएपछि लर्ड ब्रामल हयाम्पशायरको क्रोन्डालमा बस्दै आएका थिए । गत नोभेम्बर महिनामा ९५ वर्षको उमेरमा उनको निधन भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com