डेमोक्र्याट्सले सोमबार ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव ल्याउने
प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार
झण्डै १२ दिनमात्र पदावधि बाँकी रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध अमेरिकी संसदको प्रतिनिधिसभामा डेमोक्रेटिक सांसदहरुले महाअभियोग प्रस्ताव ल्याउने भएका छन् । सोमबार त्यस्तो प्रस्ताव ल्याउने तयारी भएको जनाइएको छ ।
आगामी साताको मध्यतिर प्रस्तावबारे प्रतिनिधिसभामा मतदान हुने जनाइएको छ । तर कहिले मतदान हुने भन्नेबारे स्पीकर न्यान्सी पेलोसीले केही बताएकी छैनिन् ।
ट्रम्पबिरुद्ध उनको ४ बर्षे कार्यकालको दौरान दोश्रोपटक महाअभियोग प्रस्ताव ल्याउन लागिएको हो । सन् २०१९ को डिसेम्बरमा अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाले ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव ल्याएको थियो ।
शक्तिको दुरुपयोग र सदनमा अवरोध लगायतका आरोपका साथ महाअभियोग प्रस्ताव ल्याइएको थियो । तर उक्त महाअभियोग प्रस्ताव सिनेटबाट भने अस्वीकार भएको थियो ।
शक्तिको दुरुपयोग गरेको सन्दर्भमा दोषी भएको पक्षमा सिनेटमा ४८ मत र निर्दोष रहेको पक्षमा ५२ मत खसको थियो । तर संसदमा अवरोध गरेको सन्दर्भमा दोषी रहेको पक्षमा भने सिनेटमा ४७ मतमात्र खसेको थियो भने निर्दोष रहेको पक्षमा ५३ मत खसेको थियो ।
महाअभियोग लगाउनका लागि प्रस्ताव दुई तिहाई बहुमतले पारित हुन आवश्यक छ ।
महाअभियोगबारे नवानिर्वाचित राष्ट्रपति जो बाइडेनले भने केही बताएका छैनन् । उनले यसबारे संसदले निर्णय गर्ने भएकाले संसदलाई निर्णयका लागि छाड्ने उनले बताए । आफूले पहिले नै ट्रम्प योग्य नभएको ठहर गरेर राष्ट्रपतिमा उम्मेदबारी दिएको र अबको १२ दिनमा आफू राष्ट्रपति हुने बाइडेनले बताए ।
आफ्नो प्राथमिकता भाइरस, भ्याक्सिन र आर्थिक समृद्धि रहेको बाइडेनले बताए । आफूहरु आफ्नो काम गर्ने र संसदले आफ्नो कामबारे आफै निर्णय गर्ने उनको भनाई छ ।