बाइडेनको सपथग्रहण समारोहमा नजाने ट्रम्पको घोषणा


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

डोनाल्ड ट्रम्पले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहमा नजाने घोषणा गरेका छन् । उनले जनवरी २० मा हुने सपथग्रहण समारोहमा आफू उपस्थीत नहुने बताएका हुन् ।

ट्वीटमार्फत ट्रम्पले भनेका छन् – ‘जसजसले सोध्नुभएको थियो उहाँहरुलाई जानकारी दिन चाहन्छु कि म जनवरी २० मा हुने सपथग्रहण समारोहमा उपस्थीत हुनेछैन ।’

बिहिबार राती भिडियो वक्तब्यमार्फत आफ्नो पराजय स्वीकारेका ट्रम्पले त्यसपछि खासै विवादास्पद वक्तब्य दिएका छैनन् ।

बुधबारसम्म निकै आक्रमक रुपमा प्रस्तुत भइरहेका डोनाल्ड ट्रम्पले चुनावी पराजय, हुलदंगा र कोरोनाबारे आफ्नो धारणामा एकाएक परिवर्तन गरेका हुन् । बुधबारसम्म संसद भवनमा हंगामा मच्याउने प्रदर्शनकारीहरुलाई आफूले माया गर्ने भन्दै प्रतिकृया दिएका ट्रम्पले बिहिबार बेलुका हिंशात्मक प्रदर्शनको निन्दा गरे ।

ट्रम्पका कैयन मन्त्रीहरुको राजिनामा, सामाजिक सञ्जालको प्रतिबन्ध, २५ औं संसोधन लगाएर ट्रम्पलाई पदमुक्त गर्नुपर्ने माग लगायतको पृष्ठभूमिमा बिहिबार बेलुका भिडियो वक्तब्य सार्वजनिक गर्दै ट्रम्पले भने – ‘अमेरिका सधै कानुन र व्यवस्थाको राष्ट्र हो र हुनुपर्छ । संसदमा घुसपैठ गर्नेहरुले अमेरिकन लोकतन्त्रको सिट असुद्ध बनाएका छन् । जो हिंशा र विध्वंसको गतिविधिमा संलग्न भए, तिमीहरुले हाम्रो देशको प्रतिनिधित्व गर्दैनौ । जसले कानून तोडेको छ, तिमीले त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

उनको बिहिबारको व्यक्त उनको अडान र स्थीति परिवर्तनका सन्दर्भमा उल्लेखनीय रहेको थियो । बिहिबारको हिंशात्मक प्रदर्शनका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकारी समेत रहेका छन् ।

हिंशात्मक प्रदर्शनपछि कैयन सांसदहरुले ट्रम्पबिरुद्धको महाअभियोग लगाउनुपर्ने आव्हान गरेका छन् । उपराष्ट्रपति पेन्समाथि २५ औं ससोधन लगाएर ट्रम्पलाई पदमुक्त गर्नका लागि दबाब समेत बढेको छ । आगामी जनवरी २० मा ट्रम्पको कार्यकाल सकिने भएपनि उनलाई त्यो भन्दा अगाडि नै पदमुक्त गर्नका लागि दवाव बढेको हो ।

ट्रम्पले बिहिबारको भिडियो वक्तब्यमा आफ्नो पराजय स्वीकारेका छन् । ट्रम्पले भनेका छन् – ‘अब संसदले परिणामलाई प्रमाणिकरण गरिसकेको छ । जनवरी २० मा नयाँ प्रशासनको सुरुवात हुनेछ । अब मेरो ध्यान सहज, निर्वाध र विधिवत शक्ति हस्तान्तरणमा छ । यो क्षणले उपचार र मेलमिलापको आव्हान गर्दछ ।’

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com