Follow @khasokhasmag

संसदको संयुक्त सेसनबाट इलेक्टोरल मत गणनापछि अमेरिकी राष्ट्रपतिमा बाइडेनको जीत घोषणा


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई रोक्ने डोनाल्ड ट्रम्प र उनका पक्षधरको अन्तिम प्रयासलाई असफल पार्दै अमेरिकी संसदको संयुक्त बैठकले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा गरेको छ । एरिजोना र पेन्सिलभेनियामा बाइडेनको जीतमा रिपब्लिकन सांसदहरुले विरोध जनाएपछि प्रकृयामा केही ढिलाई भएको थियो ।

एरिजोना र पेन्सिलभेनियामा बाइडेनको जीत रिपब्लिकन सांसदहरुको विरोधबारे संसदका दुबै सदनका छुट्टा छुट्टै बैठकमा छलफल गरिएको थियो । तर दुबै सदनमा भएको मतदानमा त्यस्तो विरोधलाई अस्वीकार गरिएको थियो । एरिजोनामा रिपब्लिकनको विरोधलाई सिनेटले ९३ ६ र हाउसले ३०३ १०२ ले अस्वीकार गरेको थियो । त्यस्तै पेन्सिलभेनियामा रिपब्लिकनको विरोधलाई सिनेटले ९२ ७ र हाउसले २८२ १३८ ले अस्वीकार गरेको थियो ।

संसदको दुबै सदनबाट इलेक्टोरल मतको गणना बुधबार दिउसो १ बजे सुरु भएपनि ट्रम्प पक्षधरको प्रदर्शनकारीको अवरोधका कारण राती ८ बजेसम्म प्रकृया रोकिएको थियो । त्यसपछि पुन सुरुभएको प्रकृयापछि बिहिबार विहान ३ बजेर ४० मिनेट जाँदा इलेक्टोरल मत गणना सकिएको थियो ।

त्यसपछि संयुक्त बैठकको अध्यक्षता गरेका माइक पेन्सले बाइडेनको जीत घोषणा गरेका थिए । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको र उनीहरुको पदावधि जनवरी २० बाट सुरु हुने पेन्सले घोषणा गरे । राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसको जीत औपचारिक घोषणा गरिएपछि अब अमेरिकी राष्ट्रपति निवार्चित गर्ने सम्पूर्ण औपचारिक प्रकृया पूरा भएको छ । विहान ३ बजेर ४४ मिनेट जाँदा संसदको संयुक्त बैठक समाप्त भएको थियो ।

अब जनवरी २० मा जो बाइडेनले शपथग्रहण गर्नमात्र बाँकी रहेको छ । तर जनवरी २० सम्म भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहनेछन् ।

यसैबीच डोनाल्ड ट्रम्पले विधिबत रुपमा नै जो बाइडेनलाई शक्तिको हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदको संयुक्त बैठकले बिहिबार विहान ३ बजेर ४० मिनेटमा बाइडेनको जीतको औपचारिक घोषणा गरेपछि ट्रम्पले राष्ट्रपति इतिहासको सब भन्दा ठूलो पहिलो कार्यकालको अन्त्य प्रतिनिधित्व गर्ने बताएका हुन् । चुनावको नतिजासँग पूर्ण असहमत भएपनि शक्तिको हस्तान्तरण विधिबत रुपमा गर्ने उनले बताए ।

कानुनी मत मात्र गणना गरिएको सुनिश्चित गर्न आफ्नो लडाई जारी राख्ने बताउँदै राष्ट्रपति पदको इतिहासमा पहिलो महान कार्यकालको अन्त्यलाई प्रतिनिधित्व गर्ने र यो अमेरिकालाई फेरि महान बनाउने लडाईको सुरुवात भएको ट्रम्पले बताए । क्यापिटल हिलमा हुलदंगा मच्याउन सफल भींडलाई उक्साउने आफ्ना गलत दावी गर्न भने ट्रम्पले छाडेनन् ।

 

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com