‘जर्जियाबाट सिनेटमा दुबै सिट जित्नासाथ २ हजार डलरको राहत चेक तत्काल पारित गर्छौं’


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

जर्जियाबाट सिनेटमा दुबै सिट जित्नासाथ २ हजार डलरको राहत चेक तत्काल पारित गर्ने जर्जियाबाट सिनेट सदस्यका लागि डेमोक्रेटिक उम्मेदबार जोन ओसोफले बताएका छन् । उनले आज भइरहेको चुनावमा रिपब्लिकन उम्मेदबार डेभिड पर्डयुसँग प्रतिस्पर्धा गरिरहेका छन् । ओसोफले जर्जियाबाट सिनेटमा दुबै सिट जित्नासाथ भ्याक्सिन वितरणलाई सुधार गर्न निशुल्क कोरोना परीक्षण र भ्याक्सिनबारेको बिल पारित गर्ने बताएका छन् ।

आफूले यसबारेमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग व्यक्तिगत रुपमा समेत कुराकानी गरेको उनले बताएका छन् । जर्जियाबाट सिनेटका दुईसिटमध्ये अर्को सिटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नकले रिपब्लिकन उम्मेदबार केली लोफ्लरसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने आजको जर्जियाको चुनावमा अमेरिकाको मात्र होइन, अमेरिकन राजनीतिप्रति चासो राख्ने विश्वकै ध्यानाकर्षण भएको छ । आजको चुनावले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ । सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रणका कायम भइसकेको छ ।

डेमोक्र्याट्सले आजको चुनाबबाट दुबै सिट जितेमा बाइडेन प्रशासनले आफूले चाहेका बिलहरु संसदबाट सहजै पारित गराउन सक्नेछ भने नियुक्ती लगायतका विषयमा पनि कुनै अवरोध हुनेछैन । ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने डेमोक्र्याट्सको एजेण्डा कार्यान्वयन गर्न पनि बाटो खुल्नेछ ।

आज बेलुका ७ बजे मतदान समाप्त भएपछि मतगणना सुरु गरिने छ । राष्ट्रपति चुनावको नतिजा झण्डै १२ हजारमतले निर्धारण भएको जर्जियामा नोभेम्बर ३ को चुनावमा मतदान नै नगरेका दशौं हजारले अग्रिम मतदानमा मतदान गरेका छन् ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार बाइडेनले जीतेका थिए । कुनैबेलाको रेडस्टेट जर्जिया अब ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com