विश्वको नजर जर्जियाको चुनावमा, परिणामले सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

सिनेटको बहुमत निर्धारण गरेर सिंगै अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने आजको जर्जियाको चुनावमा अमेरिकाको मात्र होइन, अमेरिकन राजनीतिप्रति चासो राख्ने विश्वकै ध्यानाकर्षण भएको छ । आजको चुनावले अमेरिकाको सिनेटमा कुन राजनीतिक दलको नियन्त्रण कायम हुनेछ भन्ने कुराको निर्धारण गर्नेछ ।

आजको चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा रहेका रहेका छन् । त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् ।

सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । प्रतिनिधिसभामा डेमोक्र्याट्सको नियन्त्रणका कायम भइसकेको छ ।

जर्जियामा दुबै सिट रिपब्लिकनले जितेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । यसो भएमा बाइडेन प्रशासनले संसदबाट आफूले चाहेका बिलहरु आगामी दुईबर्षसम्म पारित गराउनमामात्र होइन, विभिन्न नियुक्तीहरुमा समेत रिपब्लिकनको सहमति लिन जरुरी हुनेछ । एउटामात्र सिट रिपब्लिकनले जितेमा पनि सिनेटमा रिपब्लिकनकै बहुमत कायम हुनेछ ।

सिनेटमा बहुमत कायम गर्नका लागि डेमोक्र्याट्सलाई आजको चुनाबबाट दुबै सिट जित्न आवश्यक हुन्छ । यसो भएमा बाइडेन प्रशासनले आफूले चाहेका बिलहरु संसदबाट सहजै पारित गराउन सक्नेछ भने नियुक्ती लगायतका विषयमा पनि कुनै अवरोध हुनेछैन । ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने डेमोक्र्याट्सको एजेण्डा कार्यान्वयन गर्न पनि बाटो खुल्नेछ ।

आज बेलुका ७ बजे मतदान समाप्त भएपछि मतगणना सुरु गरिने छ । राष्ट्रपति चुनावको नतिजा झण्डै १२ हजारमतले निर्धारण भएको जर्जियामा नोभेम्बर ३ को चुनावमा मतदान नै नगरेका दशौं हजारले अग्रिम मतदानमा मतदान गरेका छन् ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार बाइडेनले जीतेका थिए । कुनैबेलाको रेडस्टेट जर्जिया अब ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com