इंग्ल्याण्डमा देशव्यापी लकडाउन घोषणा, सिंगो बेलायत नै फेरि लकडाउनमा


प्रकाशित मिति : पुस २०, २०७७ सोमबार

इंग्ल्याण्डमा फेरि देशव्यापी लकडाउन घोषणा भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत आजै मध्यरातदेखि लागू हुने गरी देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।

नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेपछि सरकारले फेरि राष्ट्रिय लकडाउन घोषणा गरेको हो । यसअघि गत नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म लागू लकडाउन खुलाइएसंगै इंग्ल्याण्डमा संक्रमणको आधारमा क्षेत्रगत प्रतिवन्धहरु लगाइएको थियो ।

इंग्ल्याण्डमा देशव्यापी लकडाउन हुन लागेको यो तेस्रोपटक हो । पहिलो चरणमा गत वर्षको मार्च २३ बाट शुरु लकडाउन तीन महिनाभन्दा लामो समय कायम राखिएको थियो । दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो ।

इंग्ल्याण्डमा नयाँ लकडाउन घोषणा भएसंगै सिंगो बेलायत नै फेरि लकडाउनमा जाने भएको छ । स्कटल्याण्डमा मंगलबारदेखि नै लागू हुने गरी नयाँ लकडाउन घोषणा भएको छ भने वेल्स र नर्दन आयरल्याण्ड पनि लकडाउनमै छन् ।

८ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री जोन्सनले ‘किवर्कर’ र कन्सट्रक्सनमा काम गर्ने कामदारबाहेक अरुलाई घरैबाट काम गर्न आव्हान गरेका छन् । खाद्यान्न र औषधि किनमेल, दिनको एकपटक घर नजिक शारिरीक अभ्यास, जोखिममा रहेका मानिसको रेखदेख, औषधोपचार वा कोभिड परीक्षण जस्ता अत्यावश्यक कामबाहेक घरैमा बस्न प्रधानमन्त्रीको आग्रह छ । स्कुल कलेज बन्द गरि मंगलबारदेखि अनलाइन कक्षा र परीक्षा रद्द गरिने घोषणामा छ ।

नयां कोरोना भाइरस भेरिएन्ट ५० देखि ७० प्रतिशतसम्म संक्रामक र ज्यादै ‘निराशाजनक एवं डरलाग्दो’ रफ्तार रहेको बताउंदै प्रधानमन्त्री जोन्सनले बेलायतका प्रमुख चिकित्सा सल्लाहकारले देश भाइरसको सबैभन्दा उच्च ‘५ अलर्ट’ मा लगेको र यसको मतलब अहिले कडा कदम नचालिए २१ दिनभित्र बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले थेग्न नसक्ने बताए ।

लकडाउन यति नै अवधिका लागि भनेर स्पष्ट घोषणा नभएको भएपनि कमसकेकम मध्य फेब्रुअरीसम्म कायम रहने अनुमान छ ।

बेलायतमा कोरोना भाइरसको नयां स्वरुप (भेरिएन्ट) तीव्र रुपमा फैलिइरहंदा सोमबार संक्रमितको संख्या लगातार सातौं दिन ५० हजारभन्दा माथि पुगेको छ । सोमबार २४ घन्टामा ५८ हजार ७८४ जना नयां संक्रमित थपिएका छन् ।

बेलायतमा सोमबार थप ४०७ जनाले कोरोनाका कारण ज्यान गुमाएसंगै मृतक कुल संख्या ७५ हजार ४ सय ३१ पुगेको छ ।

सरकारले कोभिड १९ खोप वितरण र परीक्षण पनि रफ्तारमा अगाडि बढाएको छ । सोमबारदेखि अक्सफोर्ड एस्ट्राजेनेका खोप आममानिसमा दिन शुरु भएको छ ।

उता, भाइरस परीक्षणका लागि सरकारले ५ हजार भन्दा बढी सैनिक परिचालन समेत गरेको छ । विशेष गरि स्कुलमा कोरोना भाइरस परीक्षणमा सेना खटाइएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com