अमेरिका: भोलिदेखि ११७ औं संसद, नवनिर्वाचितको सपथ, सभामुखका लागि मतदान


प्रकाशित मिति : पुस १८, २०७७ शनिबार

भोलि आइतबारदेखि अमेरिकाको ११७ औं संसद सुरु हुने भएको छ । जस अन्तरगत नोभेम्बर ३ को चुनावबाट निर्वाचित सांसदहरुले सपथग्रहण गर्नेछन् भने प्रतिनिधिसभामा सभामुखका लागि निर्वाचन समेत हुने भएको छ । नयाँ संसदको सुरुवातको मिति संविधानले नै तय गरेको छ ।

प्रतिनिधिसभामा नवनिर्वाचितहरुको सपथग्रहण र सभामुखका लागि चुनाव विभिन्न सात समुहमा हुने भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचितहरुमा केही पूराना अनुहारहरु रहेका छन् भने केही नयाँ अनुहारहरु थपिएका छन् । डेमोक्र्याट्सको सिट संख्या २३३ बाट घटेर २२२ मा झरेको छ । न्युयोर्कबाट एउटा सिट अझै अनिर्णित छ ।

प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा त्योभन्दा बढी ४ जनागरी २२२ डेमोक्रेटिक सांसदसहित प्रतिनिधिसभा सुरु हुने भएकोमा सभामुख चयनमा मतदान कसिलो हुने देखिएको छ । किनभने दुईजना डेमोक्रेटिक सांसदहरु कोरोना संक्रमणका कारण उक्त प्रकृयामा सहभागी हुन नसक्ने भएकाले झिनो बहुमतले सभामुखको चयन हुने देखिएको छ ।

सभामुखका लागि न्यान्सी पेलोसीले नै उम्मेदवारी दिनेछिन् । सम्भवत सभामुख पदमा आगामी कार्यकाल नै उनको अन्तिम कार्यकाल हुनेछ । पेलोसीले आफू निर्वाचित हुनका लागि मतको अभाव नहुने दृढता व्यक्त गरिसकेकी छिन् । सबै ठीकठाक नै हुने उनले बताएकी छिन् ।

बैठकमा उपस्थीत हुन नसक्नेहरुले घरबाटै मतदान गर्न पाउने प्रोक्सी मतदानको व्यवस्था समाप्त भइसकेकाले नयाँ संसदमा यस्तो व्यवस्था गर्नका लागि पुन मतदान हुनुपर्नेछ । नयाँ प्रतिनिधिसभाले यस्तो व्यवस्थाका लागि मतदान गर्ने भएकाले आइतबार उपस्थीत हुन नसक्नेहरुले सभामुख चयनमा सहभागी हुन पाउनेछैनन् ।

भोलिको प्रकृयापछि सिनेट र प्रतिनिधिसभाका सदस्यहरु जनवरी ६ मा भेट्ने छन् । जनवरी ६ मा संसदको संयुक्त सदनले राष्ट्रपतिका लागि इलेक्टोरल मतहरु औपचारिक रुपमा गणना गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com