२ हजार डलर पारित नगरी संसद समाप्त भएपछि पेलोसी र म्याक्कोनेलको घरमा क्षति
प्रकाशित मिति : पुस १८, २०७७ शनिबार
२ हजार डलरको राहत चेक पारित नगरी संसद समाप्त भएपछि हाउस स्पीकर न्यान्सी पेलोसी र सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलको घरमा क्षति पुर्याइएको छ । केन्टकीको लुईभिलमा म्याक्कोनेलको घर अगाडि ‘हाम्रो पैसा खोइ ?’ लगायतका नाराहरु लेखिएको छ ।
शनिबार विहान ५ बजेको समयमा म्याक्कोनेलको घरबाहिर स्प्रे रंगले विरोधका नाराहरु लेखिनुका साथै झ्याल र ढोकाहरुमा पनि ग्राफिटीमार्फत क्षति पुर्याइएको प्रहरीले जनाएको छ । प्रहरीले कसैमाथि पनि शंका गरेको छैन ।
त्यस्तै न्यान्सी पेलोसीको सान फ्रान्सिस्कोमा रहेको घरमा पनि शुक्रबार विहान २ बजेतिर ‘२ हजार डलर, भाडा रद्द गर’ लगायतका नाराहरु लेखिएको थियो । पेलोसीको घरको ड्राइभवेमा नक्कली रगत र सुँगुरको टाउको समेत छाडिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
अमेरिकाको प्रतिनिधिसभाबाट राहत चेक २ हजार डलर बनाउने बिल पारित भएपनि यो बिल सिनेटमा भने अगाडि बढ्न सकेन । रिपब्लिकन नेता मिच म्याक्कोनेलले यो बिल अगाडि बढाएनन् । यो बिलमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक सांसदहरुको भने समर्थन रहेको थियो ।
अब चालु संसदको म्याद औपचारिक रुपमा भोलि समाप्त हुँदैछ भने भोलि नै नयाँ संसद सुरु हुनेछ । नोभेम्बर ३ को चुनावबाट संसदमा प्रतिनिधिसभामा डेमोक्र्याट्सहरुको बहुमत कायम भएको छ भने सिनेटका १ सय सिटमा रिपब्लिकनले ५० र डेमोक्र्याटस्ले ४८ सिटमा जीत हासिल गरेका छन् ।
बाँकी २ सिटका लागि जनवरी ५ मा जर्जियामा विशेष निर्वाचन हुँदैछ । यो निर्वाचनमा दुबै सिट जितेमा सिनेटमा पनि डेमोक्र्याट्सको बहुमत कायम हुनेछ । तर एउटामात्र सिट जितेपनि रिपब्लिकनले बहुमत कायम गर्नेछन् ।