जनवरीभरमा न्युयोर्क सिटीमा १० लाखलाई भ्याक्सिन दिइने
प्रकाशित मिति : पुस १८, २०७७ शनिबार
जनवरीभरमा न्युयोर्क सिटीमा बस्ने १० लाखलाई कोरोनाबिरुद्धको भ्याक्सिन दिइने मेयर बिल डे ब्लाजिओले बताएका छन् । स्कुल, अस्थायी क्लीनिकहरु र अन्य तरिकाबाट एकमहिनाभित्र भ्याक्सिन लिने संख्या १० लाख बनाइने उनको भनाई छ ।
संघीय सरकार र औषधी निर्माताहरुले उत्पादन र वितरणलाई तीब्र पार्न समेत उनले आग्रह गरेका छन् । हरेकपल्ट कसैलाई भ्याक्सिन प्रदान गर्दा कोरोनालाई विगत बनाउने दिशामा आफू एक कदम नजिक पुग्ने उनले बताए ।
न्युयोर्क सिटीको जनसंख्या झण्डै ८० लाख रहेको छ । झण्डै साढे ४ लाखमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
न्युयोर्क सिटीले अहिलेसम्म झण्डै ४ लाख भ्याक्सिनका डोजहरु प्राप्त गरेको छ भने झण्डै एकलाखलाईमात्र भ्याक्सिनको पहिलो डोज दिइएको छ । न्युयोर्क राज्यभरभने झण्डै ७ लाख भ्याक्सिनका डोजहरु प्राप्त भएका छन् भने झण्डै डेढलाखलाई भ्याक्सिनको पहिलो डोज दिइएको छ ।
अमेरिकी सरकारले डिसेम्बरभित्र २० मिलियन भ्याक्सिनका डोजहरु डेलिभर गर्ने लक्ष्य लिएपनि जम्मा १२ दशमलव ४ मिलियन डोजमात्र डेलिभर गरिएको छ । अहिलेसम्म झण्डै २८ लाखलाई भ्याक्सिनको पहिलो डोज दिइएको छ ।