सिनेटको बहुमत निर्धारण गर्ने जर्जियाको चुनावमा झण्डै ३० लाखले गरे अग्रिम मतदान
प्रकाशित मिति : पुस १८, २०७७ शनिबार
सिनेटको बहुमत निर्धारण गर्ने जर्जियाको चुनावमा झण्डै ३० लाखले अग्रिम मतदान गरेका छन् । डिसेम्बर १४ देखि जनवरी १ सम्म जर्जियामा अग्रिम मतदान गरिएको थियो । राष्ट्रपति चुनावमा झण्डै ५० लाखले मतदान गरेको जर्जियामा अहिले जनवरीमा ५ मा चुनावको मुख्य दिन आउनु अगाडि झण्डै ३० लाखले अग्रिम मतदान गरेका छन् ।
३० लाख १ हजार १७ जनाले अग्रिम मतदान गरेकोमा २० लाख ७२ हजार ९ सय ४८ ले मतदान स्थलमा उपस्थीत भएर र ९ लाख २८ हजार ६९ जनाले हुलाकमार्फत मतदान गरेका छन् । कुल १३ लाख ७३ हजार ६ सय ९१ जनाले हुलाकमार्फत मतपत्र मगाएका थिए ।
अग्रिम मतदानमा सहभागी हुनेहरुमा हिस्पानिक बाहेकका श्वेत मतदाताहरु १६ लाख ७५ हजार ५ सय ६० जना रहेका छन् भने हिस्पानिक बाहेकका अश्वेत मतदाताहरु ९ लाख २३ हजार ९ सय ४७ जना रहेका छन् । हिस्पानिकहरु ६७ हजार २ सय ७० र एसियनहरु ७३ हजार १ सय ९२ जना रहेका छन् । आदिवासी अमेरिकनहरु ३ हजार ९ सय ९६ जना रहेका छन् भने अन्य २ लाख ५५ हजार ९ सय ४० रहेका छन् ।
मतगणना भने मंगलबारको चुनावपछिमात्र सुरु गरिने भएको छ । मंगलबार बेलुका ७ बजे मतदान समाप्त भएपछि मतगणना सुरु गरिने जनाइएको छ । मंगलबार लाखौंले मतदान गर्ने अपेक्षा गरिएको छ भने चुनावको मुख्यदिनको पूर्व सन्ध्यामा सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेन जर्जिया जाने भएका छन् ।
राष्ट्रपति चुनावको नतिजा झण्डै १२ हजारमतले निर्धारण भएको जर्जियामा नोभेम्बर ३ को चुनावमा मतदान नै नगरेका दशौं हजारले अग्रिम मतदानमा मतदान गरेका छन् ।
जनवरीमा ५ मा हुने चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर रहेका छन् । त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक रहेका छन् ।
अमेरिकाको प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले बहुमत कायम गरेको अवस्थामा सिनेटमा भने कस्को बहुमत कायम हुने भन्ने कुराको निर्धारण जनवरी ५ को जर्जियाको चुनावले गर्नेछ । सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । जर्जिया दुबै सिट डेमोक्रेटिक पार्टीका उम्मेदबारले जीतेमा उपराष्ट्रपतिले गर्ने टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण हुनेछ ।
तर जर्जियाको दुईवटै वा दुईवटामध्ये एउटा सिटमा मात्र रिपब्लिकनले जीतेमा सिनेटमा रिपब्लिकनको बहुमत कायम हुनेछ । त्यसैले जर्जियाको चुनावले सिंगै अमेरिकाको आगामी परिदृश्यलाई परिवर्तन गर्नसक्ने देखिएको छ ।
जर्जियामा राष्ट्रपति चुनावमा भने जो बाइडेनले जीतेका हुन् । १६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएकोमा यसपटक डेमोक्रेटिक उम्मेदबार बाइडेनले जीतेका थिए । कुनैबेलाको रेडस्टेट जर्जिया अब ब्याटलग्राउण्ड राज्य भएको छ ।
सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सन् २००४ यता सिनेटमा दुबै सदस्य रिपब्लिकनहरु रहदै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।