सरकारले मंगलबारदेखि डिपोजिट सुरु गरेको ६ सय डलर राहत बैंकमा प्राप्त हुन सुरु


प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार

अमेरिकी सरकारले मंगलबारदेखि बैंक एकाउन्टमा डिपोजिट गर्न सुरु गरेको ६ सय डलरको राहत चेक प्राप्त हुन सुरु भइसकेको छ । कतिपयको बैंक खातामा पेन्डिंग रुपमा र कतिपयको बैंक खातामा प्रोभिजनल रुपमा रकम प्राप्त भएको छ ।

राहत चेक प्राप्त गर्न कुनै कदम चाल्नु नपर्ने आईआरएसले जनाएको छ । जनवरी ४ आधिकारिक रुपमा बैंकमा रकम डिपोजिट हुने मिति भएकाले उक्त मितिसम्म मंगलबार पठाएको रकम प्राय सबैको खातामा पूर्णरुपमा देखिने अपेक्षा गरिएको छ ।

गत मंगलबार राती नै कैयनको बैंक एकाउन्टमा डिपोजिट गर्न सुरु गरिएकाले मंगलबार राती डिपोजिट नगरिएकाहरुका खातामा आगामीसाता प्राप्त हुनेछ । बुधबारदेखि नै कागजी चेक हुलाकमार्फत पठाउन सुरु गरिएको जनाइएको छ । आईआरएससँग बैंक खाता नभएकाहरुलाई हुलाकमार्फत चेक पठाउन सुरु गरिएको हो । केही दिनमा नै आफूले प्राप्त गर्ने ६ सय डलरको चेकको स्टाटस अनलाइनमार्फत समेत हेर्न सकिने भएको छ ।

राहत चेक प्राप्त गर्न कुनै कदम चाल्नु नपर्ने आईआरएसले जनाएको छ । राहत चेक अटोमेटिक रुपमा नै डिपोजिट हुने भएकाले बैंक वा आईआरएसले रकम आउने मितिका सन्दर्भमा सम्पर्क नगर्न सुझाव दिइएको छ । पहिलो चरणको राहत चेक जस्तै अधिकांशले स्वत दोश्रो चरणको राहत चेक प्राप्त गर्नेछन् । पहिलो चरणको राहत चेक बैंकमा प्राप्त नगरेका र हुलाकमार्फत कागजी चेक प्राप्त गरेकाहरुले सामान्यतया दोश्रो चरणको राहत चेक पनि कागजी रुपमा वा डेबिट कार्डमार्फत नै पाउने जनाइएको छ ।

कागजी रुपमा वा डेबिट कार्डमार्फत राहत चेक पठाउने काम पनि जनवरीभित्रमा पूरा गर्ने आईआरएसले जनाएको छ । पहिलो वा दोश्रो राहत चेक नपाएका योग्य व्यक्तिले अबको केहीमहिनामा सन् २०२० को ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न र प्राप्त गर्न सक्नेछन् । यसैबर्ष अमेरिका आएका वा नयाँ बच्चा जन्मिएका वा अन्य कुनै कारणले पूरै रकम नपाएकाहरुले ट्याक्स फाइल गर्दा रकम दावी गर्न सक्नेछन् ।

फर्म १०४० वा फर्म १०४० एसआरमा त्यस्तो क्रेडिट दावी गर्ने विकल्प दिइएको हुन्छ । हालै ग्रयाजुएट भएका कैयन व्यक्ति ट्याक्स फाइल गर्दा रकम प्राप्त गर्न योग्य हुने जनाइएको छ । दोश्रो चरणको राहत चेक हरेकले ६ सय डलर, १७ बर्षभन्दा मुनीका योग् बालबालिकाहरुले ६ सय डलर र दम्पत्तिले १२ सय डलर प्राप्त गर्नेछन् । ७५ हजार भन्दा आम्दानी भएका व्यक्ति वा संयुक्त फाइल गरेका १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले पूरै रकम प्राप्त गर्नेछन् । त्यो भन्दा माथि आम्दानी हुनेहरुका सन्दर्भमा रकम घट्दै जानेछ ।

सन् २०१९ को ट्याक्स फाइल गरेकाहरुलाई रकम अटोमेटिक रुपमा प्रदान गरिनेछ । पहिलो राहत चेकका लागि नोभेम्बर २१ भित्र सफलतापूर्वक नन फाइलरका रुपमा अनलाइनमार्फत दर्ता गराएका, साधारण ट्याक्स फाइल गरेर आईआरएसले प्रकृयामा लगेकाहरुले पनि दोश्रो चरणको राहत चेक अटोमेटिक रुपमा पाउनेछन् । उनीहरुले पुन दर्ता गर्नुपर्ने छैन ।

आईआरएसले रकम पठाएको नपठाएको अनलाइनमार्फत चेक गर्न सकिनेछ । गेट माइ पेमेन्ट टुलको प्रयोग गरेर रकम पठाएको नपठाएको र कसरी पठाएको भन्ने अपडेट प्राप्त गर्न सकिनेछ । आगामी केही दिनमा उक्त टुल थप अपडेटसहित उपलब्ध हुनेछ ।

हालै बैंक एकाउन्ट परिवर्तन गरेकाहरुका सन्दर्भमा आईआरएसले आफ्नो फाइलमा रहेको एकाउन्टमा रकम पठाउन प्रयास गर्नेछ । बैंक एकाउन्ट बन्द भएका कारण रकम नगएको खण्डमा चेकमार्फत हुलाकबाट पठाइनेछ । कुनै पनि माध्यमबाट रकम प्राप्त नगरेकाहरुले ट्याक्स फाइल गर्दा रकम दावी गर्न सक्नेछन् ।

जनवरीको पहिलो सातासम्म पनि बैंकमा रकम नआएकाहरुले हुलाकबाट चेक आए नआएको हेर्न आवश्यक छ । उनीहरुले या त हुलाकबाट चेक पाउनेछन्, या त डेबिट कार्ड पाउनेछन् । तर डेबिटकार्ड केहीले मात्र प्राप्त गर्ने जनाइएको छ । पहिलो चरणको रकम डेबिटकार्डमार्फत पाएकाले अहिले कागजी चेकमार्फत वा पहिलो चरणको रकम चेकमार्फत पाएकाले अहिले कार्डमार्फत पनि पाउन सक्नेछन् ।

पहिलो चरणको राहत चेकका लागि एकजनाको मात्र सोसल सेक्युरिटी नम्बर भएका तर संयुक्त रुपमा फाइल गरेका दम्पत्तिहरु सेनाको सदस्य नभएसम्म रकम पाउन अयोग्य भएका थिए । तर दोश्रो चरणको राहत चेकको योग्यता बढाइएको छ । यदि कसैले ट्याक्स पनि फाइल गरेको छैन र अनलाइनमार्फत नन फाइलरका रुपमा दर्ता पनि गरेको छैन भने त्यस्तो व्यक्ति पनि राहत चेक पाउन योग्य हुनेछ । उनीहरुले सन् २०२० को ट्याक्स फाइल गर्दा उक्त रकम दावी गर्न र प्राप्त गर्न सक्नेछन् ।

राहत चेक प्राप्त भइसकेपछि प्राप्त हुने पत्र वा आईआरसको सुचनालाई सुरक्षित राख्न र ट्याक्स रेकर्डका रुपमा प्रयोग गर्न सुझाव दिइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com