राहत चेक २ हजार डलर बनाउने बिल प्रतिनिधिसभाबाट पारित


प्रकाशित मिति : पुस १३, २०७७ सोमबार

अमेरिकामा दोश्रो चरणको राहत चेक ६ सय डलरबाट २ हजार डलर बनाउने बिल प्रतिनिधिसभाबाट पारित भएको छ । अब यो बिल मतदानका लागि सिनेटमा लगिने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ सय डलरको राहत चेकसहितको ९ सय बिलियनको राहत प्याकेजमा हस्ताक्षर गरेको भोलिपल्ट आज यो बिल पारित भएको छ । राष्ट्रपति ट्रम्पले राहत चेक २ हजार डलरको बनाउनुपर्नेमा जोड दिदै आएका थिए ।

राहत चेक २ हजार डलर बनाउने बिललाई डेमोक्र्याट्सले भारी समर्थन गरेका छन् । तर रिपब्लिकन सांसदहरुले भने यो बिलको खासै समर्थन गरेका छैनन् ।

सिनेटमा केही रिपब्लिकनहरु २ हजार डलरको राहत चेकका पक्षमा रहेकाले यो बिल पारित हुनसक्ने सम्भावना समेत रहेको छ । तर ठूलो संख्यामा रिपब्लिकनहरु यो बिलको पक्षमा नरहेकाले अहिले नै भन्न सकिने अवस्था भने छैन ।

हाउसमा ४४ जना रिपब्लिकनहरुले बिलको पक्षमा मतदान गरेका छन् । बिलका पक्षमा २७५ र विपक्षमा १३४ मत खसेको छ ।

चालु संसदको आयु अब ६ दिनमात्र बाँकी रहेको छ । नोभेम्बर ३ को चुनावबाट नवनिर्वाचित सांसदहरुले  जनवरी ३ मा सपथग्रहण गरेपछि नयाँ संसद सुरु हुनेछ ।

के छ ट्रम्पले आइतबार राती हस्ताक्षर गरेको प्याकेजमा ?

आइतबार राती राष्ट्रपति ट्रम्पले गरे ६ सयको चेक समेटिएको राहत प्याकेजमा हस्ताक्षर गरेका थिए । आइतबार राती ट्रम्पले राहत प्याकेज र खर्च विधयेकमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले राहत चेक ६ सयबाट २ हजार डलर बनाउनुपर्ने बताउँदै दुबै सदनबाट गतसाता पारित प्याकेज र खर्च विधयेकमा ५ दिनसम्म हस्ताक्षर गरेका थिएनन् ।

झण्डै ५ महिना लामो रस्साकस्सीपछि झण्डै ९ बिलियनको राहत प्याकेज पारित गर्न संसद सफल भएको थियो । ट्रम्पले राहत चेक २ हजार डलर बनाउनुपर्ने बताएपनि रिपब्लिकन सांसदहरु यसमा असहमत भएपछि राहत चेक २ हजार डलर बनाउनका लागि सर्वसम्मतको प्रयास असफल भएको थियो ।

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज  ५५९३ पृष्ठ लामो छ । कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने प्याकेजमा उल्लेख छ । ट्रम्पले शनिबार बिलमा हस्ताक्षर नगरेका कारण साप्ताहिक ३ सय भने ११ साताको साटो १० सातामात्र प्राप्त हुने देखिएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com