चीनमा कोरोना महामारीबारे रिपोर्टिङ गर्ने चाइनिज नागरिक पत्रकारलाई ४ बर्षको जेल सजाय


प्रकाशित मिति : पुस १३, २०७७ सोमबार

चीनको उहानमा कोरोना महामारीबारे रिपोर्टिङ गर्ने चाइनिज नागरिक पत्रकारलाई ४ बर्षको जेल सजाय सुनाइएको छ । उनी विगत ७ महिनादेखि सरकारको हिराशतमा रहेकी थिइन् भने भोक हडताल समेत गरेकी थिइन् ।

पूर्व वकिल समेत रहेकी ३७ बर्षकी झाङ झानले कोरोनाको महामारीको सुरुवात हुँदाको बेलामा भिडियोहरु इन्टरनेटमा पोष्ट गरेकी थिइन् ।

सरकारले उनलाई गत मे महिनामा दुस्प्रचारको अभियोगमा पक्राउ गरेर हिराशतमा राखेको थियो । चीनमा यस्तो अभियोग सरकारको आलोचना गर्नेहरु र अधिकारीकर्मीहरुबिरुद्ध लगाइदै आएको छ । झाङले पनि यस्तै अभियोगको सामना गर्नुपरेको जनाइएको छ ।

उनले महामारीको सुरुमा उहानमा के भइरहेको छ भन्ने सन्दर्भका भिडियोहरु सार्वजनिक गर्दै सरकारको आलोचना गरेकी थिइन् । गत महिना उनलाई औपचारिक रुपमा गलत सुचनाहरु सम्प्रेषण गरेको अभियोग दर्ता गराइएको थियो ।

उनले भोक हडताल गर्दा असाध्यै बिरामी समेत रहेकी थिइन् । उनले कम्मरमा पेटी बाँधेर र दुबै हातहरु बाँधेर भोक हडताल सुरु गरेकी थिइन् ।

उनलाई जबर्जस्ती खाना खुवाउनका लागि ट्युब प्रयोग गरिएको थियो । जसका कारण उनले पेट र मुखमा पीडा महसुस गरेकी थिइन् । साथै उनले टाउको दुख्ने र रिंगटा लाग्ने समस्या समेत झेलिरहेकी छिन् ।

कोरोनाको महामारीको सुरुवातका दिनहरुमा वुहानमा के भइरहेको छ भन्ने सुचनाहरु सार्वजनिक गर्ने कैयन नागरिक पत्रकारहरुमध्ये उनी एक हुन् । उनीहरुलाई एकएक गर्दै चीनको सरकारले पक्राउ गरेर हिराशतमा राखेको छ । नागरिक पत्रकार चेन क्वीसीलाई बेपत्ता पारिएको छ ।

उनले महामारी सुरु भएदेखि विभिन्न स्थानमा पुगेर सर्वसाधारणहरुसँग कुराकानी गर्दै भिडियोहरु सावर्जनिक गरेकी थिइन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com