अन्तत: ट्रम्पले गरे ६ सयको चेक समेटिएको राहत प्याकेजमा हस्ताक्षर
प्रकाशित मिति : पुस १२, २०७७ आईतबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/07/trump.jpg?fit=750%2C421&ssl=1)
अन्तत: अमेरिकी राष्ट्रपति ट्रम्पले ६ सयको चेक समेटिएको राहत प्याकेजमा हस्ताक्षर गरेका छन् । आइतबार राती ट्रम्पले राहत प्याकेज र खर्च विधयेकमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले राहत चेक ६ सयबाट २ हजार डलर बनाउनुपर्ने बताउँदै दुबै सदनबाट सोमबार नै पारित प्याकेज र खर्च विधयेकमा हस्ताक्षर गरेका थिएनन् ।
झण्डै ५ महिना लामो रस्साकस्सीपछि झण्डै ९ बिलियनको राहत प्याकेज पारित गर्न संसद सफल भएको थियो । ट्रम्पले राहत चेक २ हजार डलर बनाउनुपर्ने बताएपनि रिपब्लिकन सांसदहरु यसमा असहमत भएका थिए ।
आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज ५५९३ पृष्ठ लामो छ ।
कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।
राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।
त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने प्याकेजमा उल्लेख छ । ट्रम्पले शनिबार बिलमा हस्ताक्षर नगरेका कारण साप्ताहिक ३ सय भने ११ साताको साटो १० सातामात्र प्राप्त हुने देखिएको छ ।
राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।
२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।