टेनेसीमा क्रिसमसको विहान आत्मघाती बिष्फोट गराउने ६३ बर्षका एन्थोनी वार्नर


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

टेनेसीको नासभिलमा क्रिसमसको विहानै आत्मघाती बिष्फोट गराउने ६३ बर्षका एन्थोनी वार्नर रहेको प्रहरीले जनाएको छ । मेट्रो नासभिलका प्रहरी प्रमुख जोन ड्रेकले आत्मघाती हमलाकारी वार्नर रहेको र घटनास्थलमा भेटिएका शरीरका टुक्राहरु वार्नरकै रहेको बताएका छन् ।

घटनामा अरु पनि संलग्न भए नभएकोबारे प्रहरी र एफबीआईले अनुसन्धान गरिरहेको छ । एफबीआईले घटनास्थलमा भेटिएका शरीरका टुक्राहरु वार्नरकै रहेको अन्तिम पुष्टी गर्नका लागि डीएनए रिपोर्ट प्रतिक्षा गरिरहेको छ ।

अनुसन्धानकर्ताहरुले वार्नरको परिवारका सदस्यहरुको डीएनएपनि संकलन गरेका छन् । वार्नरले नै बिष्फोट गराइएको गाडी चलाएको र उनी त्यही बिष्फोटमा मारिएको अरु प्रमाणपनि रहेको अधिकारीहरुले बताएका छन् । तर अरु प्रमाण के हो भन्नेबारे खुलाएका छैनन् ।

नोभेम्बर २५ सम्म बेकरटाउन रोडमा वार्नरको घर रहेको उनले उक्त घर एकजना महिलाका नाममा नामसारी गरेको जनाइएको छ । बेकरटाउन रोडमा रहेको अन्य सम्पत्ति पनि उनले सन् २०१९ मा ती महिलाका नाममा नामसारी गरेका थिए ।

वार्नरले बिष्फोटक पदार्थको ह्याण्डल गर्ने लाइसेन्स सन् २०१३ मा लिएका थिए । जसको म्याद सन् २०१६ सम्म रहेको थियो ।

शुक्रबार विहानको बिष्फोटमा ३ जना घाइते भएका थिए भने कैयन भवनमा क्षति पुगेको थियो । पार्क गरिएको गाडीबाट केहीबेरमा गाडी बिष्फोट हुने महिलाको रेकर्डेड अडियो अएपछि प्रहरीले उक्त क्षेत्र खाली गराएको थियो । ६ जना प्रहरीले उक्त क्षेत्र खाली नगराएको भए अझ धेरै क्षति हुनसक्ने जनाइएको छ ।

बिष्फोट गराइएको गाडी स्थानीय समय अनुशार विहान १ बजेर २२ मिनेटजाँदा डाउनटाउन नासभिलमा आएको थियो । विहान गाडीबाट केहीबेरमा बिष्फोट हुँदै गरेको रेकर्डेड आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

साढे ५ बजे उक्त स्थानमा गोली चलेको आवाज पनि आएको थियो । बिष्फोट साढे ६ बजे भएको थियो ।

बिष्फोटबाट एटीएनटीको भवनमा क्षति पुग्दा फोनसेवा समेत अबरुद्ध भएको थियो । घटनाको उद्देश्य के थियो भन्नेबारे अझै केहीपनि खुलेको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com