२ हजार डलरको राहत चेक प्रदान गर्नुपर्नेमा ट्रम्पको आजपनि जोड


प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजपनि २ हजार डलरको राहत चेक प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । दुबै सदनबाट पारित राहत प्याकेजमा ६ सय डलरको राहत चेक मात्र समेटिएकोमा उक्त प्याकेजमा हस्ताक्षर नगरीकनै ट्रम्पले २ हजार डलरको राहत चेक सहितको प्याकेज ल्याउनुपर्ने बताएका हुन् ।

उनले भनेका छन् – ‘किन राजनीतिज्ञहरु जनतालाई ६ सयको साटो २ हजार डलर दिन चाहन्नन् ? यो उनीहरुको गल्ती थिएन । यो त चीनको थियो । हाम्रा जनतालाई पैसा देऊ ।’

ट्रम्पले दुबै सदनबाट पारित राहत प्याकेजमा हस्ताक्षर गर्नेछन् वा भिटो लगाउनेछन् भन्ने अझै स्पष्ट छैन । राष्ट्रपति ट्रम्प यतिबेला फ्लोरिडामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार राहत प्याकेजमा असहमति जनाएपछि २ हजार डलरको राहतचेक समेटिएको संसोधित राहत प्याकेज अमेरिकाको प्रतिनिधिसभामा सर्वसम्मत गराउन डेमोक्रेटिक सांसदहरुले गरेका थिए । तर त्यस्तो प्रयास रिपब्लिकन सांसदहरुले अस्वीकार गरेका थिए ।

मंगलबारसम्म बिलमा ट्रम्पले हस्ताक्षर नगरेमा सरकार शटडाउन हुनेछ । अब सोमबार २ हजार डलर राहत चेकसहित संसोधन गरिएको प्याकेजमा प्रतिनिधिसभामा मतदान हुनेछ । तर त्योभन्दा अगाडि नै ट्रम्पले हस्ताक्षर गरेको खण्डमा भने संसदका दुबै सदनबाट पारित भएर ह्वाइटहाउसमा लगिएको बिल नै कार्यान्वयनमा आउनेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार डलरको राहत चेक पठाउनुपर्ने बताएपछि हाउस स्पीकर न्यान्सी पेलोसीले २ हजार डलरको राहत चेकसहितको प्याकेज पारित गर्न तयार रहेको बताएकी थिइन् ।

चालु संसदको आयु अब ९ दिनमात्र रहेको छ । जनवरी ३ मा नयाँ संसद सुरु हुनेछ । जसमा नोभेम्बर ३ को चुनावबाट निर्वाचित सांसदहरुले जनवरी ३ मा सपथग्रहण गर्नेछन् । यो संसद छँदै बिल पारित हुन नसके नयाँ संसदले सुरुबाटै प्रकृयाको थालनी गर्नुपर्नेछ ।

६ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय डलर समेटिएको ८९२ बिलियन डलरको राहत प्याकेज अमेरिकी संसदको दुबै सदनबाट गत सोमबार नै पारित भएको थियो । संसदले १ दशमलव ४ ट्रिलियन डलरको खर्च विधयेक पनि पारित गरेको हो ।

राहत प्याकेज र खर्च विधयेक सोमबार साँझ प्रतिनिधिसभाबाट र मध्यरात हुनु ठीक अगाडि सिनेटबाट पारित भएको थियो । सिनेटमा ९२ जनाले पक्षमा र ६ जना रिपब्लिकन सिनेटरहरुले विपक्षमा मतदान गरेका थिए ।

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज  ५५९३ पृष्ठ लामो छ ।

कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com