ट्रम्पबाट सम्धीसहित २६ जनालाई आममाफी


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

मंगलबारमात्र २० जनालाई आममाफी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना सम्धी चाल्र्स कुश्नरसहित २६ जनालाई आममाफी दिएका छन् । चाल्र्स कुश्नर ट्रम्पका ज्वाई जारेड कुश्नरका पिता हुन् । ट्रम्पले आज उनका लामो समयदेखिका सहयोगी रोजर स्टोन र अभियानका पूर्व अध्यक्ष पउल म्यानफोर्डलाई पनि आममाफी दिएका छन् ।

ट्रम्पका सम्धी चाल्र्स कुश्नर अमेरिकामा रियल स्टेटमा जमेका व्यापारी हुन् । उनलाई सन् २००६ मा ट्याक्स छलेको, अभियानमा गैरकानुनीरुपमा चन्दा दिएको लगायतमा दोषी ठहर गरेर २४ महिना जेल समेत हालिएको थियो । जेलबाट निस्केर उनी रियल स्टेटमा सकृय रहदै आएका छन् ।

मंगलबार ट्रम्पले इराकमा सन् २००७ मा १४ जना निशस्त्र सर्वसाधारणको हत्या गरेको अभियोगमा दोषी ठहरिएका लगायत २० जनालाई आममाफी दिएका थिए । आम माफी पाउनेहरु तीनजना पूर्व रिपब्लिकन सांसदहरु र दुईजना २०१६ को चुनावमा रसियन हस्तक्षेपकाको अनुसन्धानसँग सम्बन्धित अपराधमा दोषी ठहरिएकाहरु थिए ।

इराकमा १४ सर्वसाधारणको हत्यामा दोषी ४ जना शैन्य ठेकेदारहरुलाई पनि ट्रम्पले आममाफी दिएका हुन् । त्यस्तै लागुऔषध लगायतका कैयन अपराधमा दोषी ठहरिएकाहरुलाई पनि ट्रम्पले आममाफी दिएका छन् ।

आममाफी दिने कुरामा आफू लचिलो हुने ट्रम्पले आफ्ना सल्लाहकारहरुलाई बताएका छन् । अहिले ह्वाइटहाउसमा आममाफीका लागि अनुरोध गर्नेहरुको ओइरो लागेको जनाइएको छ । जसमा कैयन सांसदहरु, बरिष्ठ अधिकारीहरु, वकिलहरु, ट्रम्पका समर्थक र सहयोगीहरु रहेका छन् ।

ट्रम्पले यसअगाडि पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लेनलाई क्षमादान दिएका थिए । उनले अदालती बयानका क्रममा एफबीआईएसमक्ष झुठो बोलेको स्वीकारेका थिए । माइकल फ्लेनले सन् २०१७ को डिसेम्बरमा उनीबिरुद्धको लागेको अभियोग स्वीकार गरेका थिए ।

ट्रम्पले राष्ट्रपतिमा कार्यभार सम्हाल्दै गर्दा रसियन राजदूतसँग भएका आफ्ना सम्बादका विवरणबारे अनुसन्धानका क्रममा एफबीआई समक्ष झुठो बोलेको उनले स्वीकार गरेका थिए । तर ट्रम्पले क्षमादान दिएपछि झण्डै तीनबर्ष लामो कानूनी महाभारत समाप्त भएको छ ।

राष्ट्रपतिसमक्ष क्षमादान दिनसक्ने विशेष अधिकार रहेको छ । यो अधिकारको प्रयोग गरेर ट्रम्पले आफ्नो कार्यकालमा केही हाइप्रोफाइल व्यक्तित्वहरुलाई माफी वा क्षमादान दिइसकेका छन् ।

अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् ।

यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

यसैबीच दोश्रो कार्यकालका लागि पराजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैलाई माफी वा क्षमादान दिन मिल्ने नमिल्नेबारे निकटवर्तीहरुसँग छलफल गरिरहेको जनाइएको छ । तर राष्ट्रपति आफैले आफैलाई माफी वा क्षमादान गर्न मिल्ने वा नमिल्ने सन्दर्भमा अमेरिकन मिडियाहरुमा बहस सुरु भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा गरेको एउटा ट्वीटमा आफूले आफैलाई माफी वा क्षमादान दिनसक्ने दावी गरेका थिए । यद्यपी यस्तो दावीको कानुनी आधार भने स्पष्ट छैन । जस्टिस डिपार्टमेन्ट अफिस अफ लिगल काउन्सिलले सन् १९७४ मा रिचर्ड निक्सनका सन्दर्भमा एउटा मेमो जारी गरेर आधारभूत नियम अनुशार आफ्नो न्यायाधिस आफै बन्न नसकिने र राष्ट्रपतिले आफूले आफैलाई माफी वा क्षमादान दिन नसकिने उल्लेख थियो ।

तर कतिपयले राष्ट्रपति आफैले आफैलाई माफी वा क्षमादान दिनसक्ने दावी समेत गरेका छन् । यद्यपी डोनाल्ड ट्रम्पले आफूले आफैलाई माफी वा क्षमादान दिएमा यसले अदालतमा कानुनी लडाईको सामना गर्नुपर्ने हुनसक्छ । र, यसबारे अदालतले निर्णय दिनुपर्ने अवस्था समेत आउनसक्छ । रिचार्ड निक्सनका पालामा निक्सनले राजिनामा दिएपछि राष्ट्रपति बनेका जेराल्ड फोर्डले निक्सनलाई माफी वा क्षमादान दिएका थिए ।

ट्रम्पले आफू निकटका कैयनलाई भने क्षमादान दिने योजना बनाएका छन् । रोबर्ट मुलरको अनुसन्धानका सन्दर्भमा जोडिएकाहरु, ट्रम्प अर्गनाइजेनशनका कर्मचारीहरु, आफ्नै परिवारका सदस्यहरु लगायतलाई माफी वा क्षमादान दिने योजनामा ट्रम्प रहेको जनाइएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भने ट्रम्पलाई माफी नदिने बताएका छन् ।

आफैले आफैलाई क्षमादान दिन नसकेको अवस्थामा ट्रम्पले कार्यकाल सकिनुभन्दा केही अगाडि राजिनामा दिने र माइक पेन्सले राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेर ट्रम्पलाई माफी वा क्षमादान दिनसक्ने परिदृश्यबारे समेत चर्चा सुरु भएको छ । यदि ट्रम्पलाई माफी दिइएको खण्डमा उनले संघीय अभियोगहरुमा उन्मुक्ति पाउनेछन् । तर न्युयोर्क एटोर्नी जनरल म्यानहटन डिस्ट्रिक्न एटोर्नीबाट भइरहेको अनुसन्धानबाट उत्पन्न अवस्थाको सामना गर्नमा भने रोक लाग्नेछैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com