संसदबाट भारी बहुमतले पारित बिलमा ट्रम्पको भिटो, हस्ताक्षर नगरी फिर्ता
प्रकाशित मिति : पुस ८, २०७७ बुधबार
संसदबाट भारी बहुमतले पारित राष्ट्रिय सुरक्षा प्राधिकरण बिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेका छन् । तर यो बिल ट्रम्पको भिटोको बाबजुत पनि कार्यान्वयनमा जानबाट नरोकिने देखिएको छ ।
सेनाको तलब बढाउने, हतियारको खरिदमा निर्देशन दिने र सैन्य नीति बनाउने ७४१ बिलियन डलरको यो सुरक्षा प्याकेज संसदका दुबै सदनबाट भिटो प्रुफ बहुमतबाट पारित भएको थियो । तर ट्रम्पले आफूले चाहेका कुराहरु समावेश नभएको भन्दै बिल फिर्ता गरेका हुन् ।
यो बिलमा पक्षमा सिनेटमा ८४ मत परेको थियो भने हाउसबाट पनि अत्याधिक बहुमतले पारित भएको थियो । अब यो बिल भिटोप्रुफ समर्थन पाउने देखिएको छ ।
आफ्नो प्रशासनले यो ऐनको राष्ट्रिय सुरक्षामा महत्व बुझेको तर दुर्भाग्यवश बिलले महत्वपूर्ण सुरक्षा मापदण्डहरु समावेश गर्न छुटाएको, राष्ट्रिय सुरक्षामा अमेरिका पहिलो राख्ने ट्रम्प प्रशासनको नीतिको विरोधाभाष रहेको भन्दै ट्रम्पले बिलमा भिटो प्रयोग गरेका हुन् । ट्रम्पले यो बिल चीन र रसियाका लागि उपहारजस्तो भएको आरोप लगाएका छन् ।
ट्रम्पले यसअगाडि पनि यो बिलमा भिटो प्रयोग गर्ने आशयबारे बताउदै आएका थिए । यो बिल गत साता पारित भएको थियो । यो बिलको ७ जना रिपब्लिकन सिनेटर, ५ जना डेमोक्र्याट्स सिनेटरहरु र सिनेटर बर्नी स्याण्डर्सले समेत विरोध गरेका थिए ।
यो बिलले ६३५ दशमलव ५ बिलियन डलर पेन्टागनका लागि प्रदान गर्छ भने २६ दशमलव ६ बिलियन डलर आणविक कार्यक्रमका लागि उर्जा मन्त्रालयलाई प्रदान गर्दछ । अरु ६९ बिलियन अफगानिस्तान र मध्यपूर्वमा अमेरिकन सैन्य अपरेशनका लागि प्रदान गर्दछ ।
यो बिलले सेनाको तलब ३ प्रतिशतले बढाउँछ भने पारिवारिक विदामा रहँदासम्म उनीहरुलाई तलबको व्यवस्था गर्दछ । यो बिलले प्यासेफिक क्षेत्रमा चीनलाई रोक्नेमा केन्द्रीत कार्यक्रम प्यासेफिक डिटेरेन्स इनिसियटिभका लागि २ दशमलव २ बिलियन डलर छुट्याएको छ ।