राहत प्याकेज सोमबार पारित गरिने, भोलिसम्म सरकारको खर्च धान्न एकदिने खर्च विधयेक पारित
प्रकाशित मिति : पुस ५, २०७७ आईतबार
झण्डै ५ महिना लामो प्रयासपछि सहमति जुटेको राहत प्याकेज भोलि सोमबार पारित गरिने भएको छ । सोमबार राहत प्याकेज र आगामी सेप्टेम्बरको अन्त्यसम्मका लागि खर्च विधयेक पारित गर्ने योजना बनाइएको हो ।
आज खर्च विधयेक पारित नभए मध्यरातदेखि सरकार शटडाउन हुने भएकाले एकदिनका लागि सरकारी खर्च धान्ने बिल आजै प्रतिनिधिसभाबाट पारित गरिएको छ । मध्यरात अगाडि सिनेटबाट पारित भएपछि भोलिसम्मका लागि सरकारी खर्च धानिने छ । र सरकार शटडाउन हुनबाट बच्नेछ ।
लामो समयदेखिको रस्साकस्सीपछि अन्तत झण्डै ९ सय बिलियनको राहत प्याकेजमा दुईदलकै सांसदहरुबीच आज सहमति भएको हो । यो प्याकेजमा काम गुमाएहरुलाई बेरोजगारी विमान रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्ने विषय समेत समेटिएको छ ।
त्यस्तै दोश्रो चरणको राहत चेकमा पनि सहमति भएको छ । तर दोश्रो चरणको राहत चेक ६ सय डलरकोमात्र हुनेछ । बच्चाहरु र बयस्कहरुलाई ६ सयको राहत चेक प्राप्त हुनेछ अर्थात् दम्पत्ति र दुई बच्चाहरु भएको परिवारलाई २४ सय डलर प्राप्त हुनेछ ।
बार्षिक ७५ हजारभन्दा कम आम्दानी भएकाहरुले ६ सय डलरको राहत चेक पाउनेछन् भने त्यो भन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा चेकको रकम घट्दै जानेछ । साप्ताहिक रुपमा बेरोजगारी विमाका अतिरिक्त प्रदान गरिने ३ सय डलरको सुरुवात भने छिटोमा डिसेम्बर २७ बाट हुने जनाइएको छ ।
राहत प्याकेजमा २८४ सय बिलियन साना विजनेशको पेचेक प्रोटेक्सन कार्यक्रमका लागि छुट्याइएको छ । २० बिलियन साना विजनेशको अनुदानका लागि र १५ बिलियन लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ । त्यस्तै ३० बिलियन भ्याक्सिनको वितरणका लागि छुट्याइएको छ । ८२ बिलियन स्कुल र कलेजका लागि समेत छुट्याइएको छ ।
भाडा सहायता कार्यक्रमका लागि २५ बिलियन छुट्याइएको छ । १३ बिलियन पुरक पोषण सहायता कार्यक्रमका लागि छुट्याइएको छ ।
विगत ५ महिनादेखि राहत प्याकेजमा सहमति हुन नसक्दा अमेरिकनहरुले कुनै अतिरिक्त सहायता प्राप्त गर्न सकेका थिएनन् । तर आजको सहमतिपछि आशा पलाएको छ ।