राहत प्याकेजमा सहमति हुन नसकेपछि दुई दिन मात्रै सरकारी खर्च धान्ने बिल पारित


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

राहत प्याकेजमा अन्तिम सहमति हुन नसकेपछि सरकार शटडाउन हुन नदिन दुई दिनका लागि सरकारी खर्च धान्ने बिल संसदका दुबै सदनबाट पारित भएको छ । अब आइतबारसम्म सरकार शटडाउन नहुने भएको छ भने राहत प्याकेजमा सहमतिका लागि आइतबारसम्म प्रयास गरिने भएको छ ।

सांसदहरुले सप्ताहन्तमा पनि सहमतिका लागि प्रयासहरु गर्ने जनाइएको छ । सप्ताहन्तभर सहमति कायम भएमा आइतबार राहत प्याकेज र चालु आर्थिक बर्षको अन्त्यसम्मका लागि खर्च विधयेक पारित हुनसक्नेछ । शनिबार राहत प्याकेज र खर्च विधयेकमा मतदान नहुने जनाइएको छ ।

राहत प्याकेजमा शुक्रबार सहमति हुने आशा गरिएको थियो । तर रिपब्लिकन सिनेटरले अन्तिम समयमा नयाँ प्रस्ताव ल्याएपछि अन्तिम सहमति कायम हुन सकेन । रिपब्लिकन सांसदहरुले राहत प्याकेजमा विषको गोली हाल्न खोजेको डेमोक्रेटिक सांसदहरुले आरोप लगाएका छन् ।

अहिलेका लागि ९ सय बिलियनको राहत प्याकेजको तयारी भइरहेको छ । सुरुम सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले राहत चेक नै नसमेटिएको योजना अगाडि सारेका थिए । तर अहिले उनी ६ सय डलरको राहत चेक पठाउनेमा सहमत देखिएका छन् ।

ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले गतसाता ल्याएको प्रस्तावमा समेत ६ सय डलरको दोश्रो चरणको राहत चेक समावेश रहेको थियो । तर उक्त प्रस्तावमा बेरोजगारी विमाको सन्दर्भमा भने ठूलो कटौती गरिएको थियो ।

वार्ताहरु जारी रहँदा नेता बर्नी स्याण्डर्स र डेमोक्रेटिक सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले १२ सय डलरको दोश्रो चरणको राहत चेक पठाउनुपर्नेमा जोड दिइरहेका छन् । राहत चेक विनाको प्याकेजलाई आफूहरुले समर्थन नगर्ने उनीहरुको भनाई छ ।

दुईदलबीच ९ सय बिलियनको राहत प्योकजमा सहमति हुने सम्भावना देखिएको छ । जसमा ३ सय बिलियन साना विजनेश र अर्को चरणको ऋणका लागि छुट्याइएको छ भने ६ सय डलरको दोश्रो चरणको राहत चेक समावेश गरिएको छ । साथै काम गुमाएकाहरुलाई बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ३ सय डलर समेत समेटिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com