आणविक हतियारको व्यवस्थापनबारे जिम्मेबार अमेरिकी उर्जा मन्त्रालयमा साइबर हमला


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

आणविक हतियारको व्यवस्थापनबारे जिम्मेबार अमेरिकी उर्जा मन्त्रालयमा साइबर हमला भएको छ । यसलाई अमेरिकी सरकारका एजेन्सीमा भएको सबैभन्दा खराब साइबर हमला बताइएको छ ।

साइबर हमला भएपनि हतियारको सुरक्षाबारेका विवरण भने चोरी हुन नपाएको जनाइएको छ । माइक्रोसफ्टले पनि आफ्नो प्रणालीमा दुर्भावनापूर्ण सफ्टवेयर भेटिएको बताएको छ । यी साइबर हमलाका लागि धेरैले रुसी सरकारलाई जिम्मेबार ठानेका छन् । तर रुसले भने अस्वीकार गरेको छ ।

हालै अमेरिकाका अर्थ र वाणिज्य मन्त्रालयमा पनि साइबर हमला भएको थियो । अधिकारीहरुले गत आइतबार यसको स्वीकार गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे कुनै प्रतिकृया जनाएका छैनन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनमा साइबर सुरक्षा एउटा मुख्य प्राथमिकता हुने बताएका छन् ।

अमेरिकाको उच्च साइबर एजेन्सी सिसाले उक्त साइबर हमलालाई सम्बोधन गर्न कठिन र चुनौतिपूर्ण रहेको बताएको छ । महत्वपूर्ण संरचनाहरु क्षतिग्रस्त भएको तथा संघीय एजेन्सी र निजी कम्पनीहरुमा ह्याकरले पहुँच कायम गरेको बताएको छ । यस्तो नोक्सानबाट गम्भिर क्षति हुनसक्ने सिसाले बताएको छ ।

यस्तो ह्याक गत मार्चदेखि सुरु भएको जनाइएको छ । सिसाले कस्तो खालको सुचना चोरी भएको छ वा सार्वजनिक भएको छ भन्नेबारे केही बताएको छैन । ह्याकरले विजनेश नेटवर्कमा मात्र पहुच कायम गर्न सफल भएको र अमेरिकाको आणविक हतियार हेर्ने राष्ट्रिय आणविक सुरक्षा प्रशासन प्रभावित नभएको उर्जा मन्त्रालयकी प्रवक्ताले बताएकी छिन् ।

ह्याकरहरुले अमेरिकी विदेशमन्त्रालय, रक्षा, गृह, अर्थ र वाणिज्यमन्त्रालयमा कुनै न कुनै प्रकारको पहुँच कायम गर्न सफल भएको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com