२ हजार डलरसम्मको राहत चेक पठाउन ट्रम्पको आन्तरिक फोनकल


प्रकाशित मिति : पुस २, २०७७ बिहीबार

सांसदहरुले दोश्रो चरणको ६ सय डलरको राहत चेकसहितको राहत प्याकेजमा सहमतिको प्रयास गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २ हजार डलरसम्मको राहत चेक पठाउनुपर्नेमा जोड दिएका छन् । बिहिबार दिउसोको फोनकलमा ट्रम्पले आफ्ना सहयोगीहरुलाई आगामी राहत प्याकेजमा २ हजार डलरको राहत चेक र सम्भव नभए कम्तीमा १२ सय डलरसम्मको राहत चेक समावेश गर्न माग गरेका छन् ।

ट्रम्पले आफ्नो यो मागलाई बिहिबार औपचारिक रुपमा नै ड्राफ्ट गरेर सार्वजनिक गर्ने योजना बनाएपनि यसो गर्दा राहत प्याकेजबारे सांसदहरुबीच भइरहेको वार्ता संकटमा पर्नसक्ने भन्दै ह्वाइटहाउसका अधिकारीहरुले रोकेको बताइएको छ । रिपब्लिकन सांसदहरुले राहत प्याकेज १ ट्रिलियन भन्दा कमको हुनुपर्नेमा जोड दिइरहेका छन् । अहिलेका लागि ९ सय बिलियनको राहत प्याकेजको तयारी भइरहेपनि चेकको रकम बढाएमा राहत बिल १ ट्रिलियन डलरसम्मको हुनसक्छ ।

ट्रम्पले अन्तत सार्वजनिक रुपमा भने ठूलो राहत चेकको आव्हान गरेननन् । उनका सहयोगीहरुले यस्तो गर्न नसकिने र यसो गर्दा सहमतिका लागि भइरहेको वार्तामा संकट उत्पन्न हुने बताए । ट्रम्प प्रशासनले संसदसँगको सहमतिमा अर्को चरणको राहत चेक पठाउनेमा काम गरिरहेको बताएपनि ह्वाइट हाउसका प्रवक्ताले राहत चेक २ हजारडलरसम्मको हुनुपर्ने ट्रम्पको मागबारे केही बताएका छैनन् ।

ट्रम्पले यो महिनाको सुरुवातमा पनि ठूलो राहत चेक पठाउनुपर्ने बताएका थिए । तर सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले राहत चेक नै नसमेटिएको योजना अगाडि सारे । अहिले पनि उनी ६ सय डलरको राहत चेक पठाउनेमा सहमत देखिएका छन् ।

ट्रम्पले गत आइतबार फक्स न्यूजसँगको कुराकानीमा भनेका थिए – ‘म अहिले धेरै रकम सहितको चेक अमेरिकनहरुकोमा गएको चाहन्छु । मैले त्यसका लागि दवावपनि दिइरहेको छ । इमान्दारिताका साथ भन्दा डेमोक्र्याटहरुले साँच्चीकै चाहेको खण्डमा यो सहमति हुनसक्नेछ ।’

यसैबीच  रिपब्लिकन नेताले राहत प्याकेजमा दोश्रो चरणको ६ सय डलरको राहत चेक थप्नेमा सहमति जनाएका छन् ।

ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले गतसाता ल्याएको प्रस्तावमा समेत ६ सय डलरको दोश्रो चरणको राहत चेक समावेश रहेको छ । तर उक्त प्रस्तावमा बेरोजगारी विमाको सन्दर्भमा भने ठूलो कटौती गरिएको छ ।

वार्ताहरु जारी रहँदा नेता बर्नी स्याण्डर्स र डेमोक्रेटिक सांसद अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले १२ सय डलरको दोश्रो चरणको राहत चेक पठाउनुपर्नेमा जोड दिइरहेका छन् । राहत चेक विनाको प्याकेजलाई आफूहरुले समर्थन नगर्ने उनीहरुको भनाई छ ।

अब दुईदलबीच ९ सय बिलियनको राहत प्योकजमा सहमति हुने सम्भावना देखिएको छ । जसमा ३ सय बिलियन साना विजनेश र अर्को चरणको ऋणका लागि छुट्याइएको छ भने ६ सय डलरको दोश्रो चरणको राहत चेक समावेश गरिएको छ । साथै काम गुमाएकाहरुलाई बेरोजगारी विमाको अतिरिक्त साप्ताहिक ३ सय डलर समेत समेटिएको छ ।

बिहिबार सिनेटको फ्लोरमा बोल्दै रिपब्लिकन नेता मिच म्याक्कोनेलले डेमेक्रेटिक नेताहरुले दुईदलीय राहत प्याकेजमा समर्थन जनाएकोमा खुशी व्यक्त गरेका छन् । यो समयमा यो नै उचित समाधान भएको बताउँदै छिट्टै अन्तिम सहमति हुने उनले जनाएका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com