ओली-प्रचण्डको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक स्थगित
प्रकाशित मिति : पुस २, २०७७ बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटमा प्रचण्डले आपत्ति जनाउँदै स्थगित गर्नु सुझाएपछि बैठक स्थगित भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले आज साँझ ५ः३० बजे परिषद्को बैठक बोलाएका थिए । सरकारले हालै जारी गरेको विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा नेकपालगायत प्रतिपक्षी दलले समेत विरोध जनाएपछि प्रधानमन्त्री ओलीले बुधबार फिर्ता लिने बताएका थिए । तर, फिर्ता नहुँदै प्रधानमन्त्री ओलीले आज पुनः बैठक बोलाउने बित्तिकै प्रचण्ड बालुवाटार पुगेका थिए ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।
प्रधानमन्त्री ओलीले पुनः डाके संवैधानिक परिषद् बैठक : सभामुखलाई थाहा छैन, देउवा नजाने