प्रधानमन्त्री ओलीले पुनः डाके संवैधानिक परिषद् बैठक : सभामुखलाई थाहा छैन, देउवा नजाने


प्रकाशित मिति : पुस २, २०७७ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद्को बैठक डाकेका छन् । बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक बोलाएका हुन् ।

अध्यादेश फिर्ता लिनका लागि आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएपनि प्रधानमन्त्री ओलीले त्यसअघि नै संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

तर, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद् बैठकबारे थाहा नभएको जनाएका छन् । सभामुखका सञ्चार विज्ञ श्रीधर न्यापानेले बैठकबारे हालसम्म जानकारी नआएको बताएका छन् ।

यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी नहुने स्रोतले जनाएको छ । संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।

यसअघिका बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com