संक्रमितको सम्पर्कमा आएपछि अमेरिकी विदेशमन्त्री पम्पिओ क्वारेन्टीनमा


प्रकाशित मिति : पुस १, २०७७ बुधबार

नजिकको सम्पर्कमा आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकी विदेशमन्त्री माइक पम्पिओ क्वारेन्टीनमा बसेका छन् । तर अमेरिकी विदेशमन्त्रालयले भने पम्पिओको परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘विदेशमन्त्री पम्पिओ सम्पर्कमा आउनुभएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । तर गोप्यताका कारण हामीले ती व्यक्तिको परिचय भने खुलाउन सक्दैनौं ।’

माइक पम्पिओ सीडीसीको निर्देशिका अनुशार क्वारेन्टीनमा बस्न सुरु गरेका छन् । अमेरिकी विदेश मन्त्रालयको मेडिकल टिमले नजिकबाट पम्पिओको निरिक्षण गरिरहेको जनाइएको छ ।

पम्पिओले गत शुक्रबार ह्वाइट हाउसमा गएका थिए । तर कहिले उनी कोरोना संक्रमितको नजिक पुगे भन्नेबारे केही खुलाइएको छैन । बुधबार विहान राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा मन्त्रिपरिषदको बैठक समेत बोलाएका थिए ।

बिहिबार पम्पिओले नवानिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेशमन्त्रीका रुपमा छानेका एन्टोनी ब्लींकेनसँग पहिलोपटक भेट्ने कार्यक्रम रहेको थियो । अब पम्पिओले ब्लींकेनलाई प्रत्यक्ष रुपमा नभेट्ने भएका छन् । बैठक भर्चुअल रुपमा हुने नहुने केही स्पष्ट छैन ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com