फाइजर भ्याक्सिनलाई स्वीकृतिपछि मोडेर्ना पनि सुरक्षित र प्रभावकारी रहेको एफडीएको निष्कर्ष
प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार
गत शुक्रबार कोरोनाबिरुद्धको फाइजर र बायोएनटेकले बनाएको भ्याक्सिन प्रभावकारी र सुरक्षित ठहर गर्दै प्रयोगका लागि अनुमति दिएको अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन पनि प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालेको छ । एफडीएले यो भ्याक्सिन पनि यसैसाता प्रयोगका लागि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।
मंगलबार एफडीएले मोडेर्ना भ्याक्सिनबारे विस्तृत विश्लेषण सार्वजनिक गरेको हो । एफडीएको विश्लेषणमा मोडेर्नाको भ्याक्सिनबारे कुनै विशेष सुरक्षा समस्या नरहेको निष्कर्ष निकालिएको हो । नकारात्मक गम्भिर असर निकै दुर्लभ रहेको तर सामान्य साइड इफेक्टहरु भने हुनसक्ने जनाइएको छ । यो भ्याक्सिनको परीक्षणका क्रममा लगाएकाहरुले भ्याक्सिन लगाएको ठाउँमा दुखेको, टाउको दुखेको लगायतका साइड इफेक्ट देखिएको बताएका छन् ।
यो भ्याक्सिन पनि फाइजरको भ्याक्सिन जस्तै ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको छ । मोडेर्ना भ्याक्सिनका पनि दुई डोज दिनुपर्नेछ । २८ दिनको अन्तरमा दुई डोज दिनुपर्ने जनाइएको छ । तर यो भ्याक्सिन बुढाबुढीमा भने कम प्रभावकारी देखिएको एफडीएले निष्कर्ष निकालेको छ । १८ बर्षभन्दा माथिका र ६५ बर्षभन्दा मुनीकाहरुमा भ्याक्सिनको प्रभावकारिता ९६ प्रतिशत देखिएको छ । तर ६५ बर्ष माथिकाहरुमा ८६ प्रतिशतमात्र प्रभावकारी देखिएको छ ।

डिसेम्बर १७ बिहिबार सल्लाहकार प्यानलले भ्याक्सिनबारे छलफल गर्नेछ । गत बिहिबार फाइजरको भ्याक्सिनबारे प्यानलले छलफल गरेर बहुमतले पारित गरेपछि शुक्रबार एफडीएले भ्याक्सिन प्रयोगका लागि स्वीकृत गरेको थियो । यसपटक पनि शुक्रबार वा शनिबारसम्म स्वीकृत हुने अपेक्षा गरिएको छ ।
फाइजरको भ्याक्सिन १६ बर्षभन्दा माथिकालाई प्रयोगका लागि स्वीकृत गरिएकाले सोमबारदेखि वितरण सुरु भइसकेको छ । तर फाइजरको भ्याक्सिन माइनस ७६ डिग्री फरेनहाइट र त्योभन्दा चिसोमा राख्नुपर्छ । मोडेर्नाको भ्याक्सिन एकमहिनाभन्दा लामो दीर्घकालिन भण्डारणका लागि माइनस ४ डिग्री फरेनहाइट भन्दा चिसोमा राखे पुग्छ । त्यसैले भण्डारण र वितरणका लागि मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा सहज हुनेछ ।
मोडेर्नाको भ्याक्सिन तत्काल प्रयोग गर्नेभएमा ३६ देखि ४६ डिग्री फरेनहाइटको बीचमा राखे पुग्छ । जुन घरको सामान्य फ्रिजको तापक्रम हो । यो तापक्रममा एकमहिनासम्म राख्न सकिने जनाइएको छ ।
फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।
फाइजरको भ्याक्सिन एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।
यसैबीच अमेरिकी सरकारले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने भएको छ । मोडेर्नाको भ्याक्सिन अमेरिकाले आगामी साता प्रयोगका लागि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।
प्रयोगको स्वीकृति पाएमा मोडेर्नाले यसै महिना २० मिलियन डोज प्रदान गर्नेछ भने ८० मिलियन डोज जनवरीमा प्रदान गर्नेछ । अब अमेरिकासँग मोडेर्ना भ्याक्सिनका कुल २ सय मिलियन डोज हुनेछन् । अमेरिकासँग मोडेर्नाबाट अरु ३ सय मिलियन डोज भ्याक्सिन किन्ने विकल्प रहेको छ ।
अहिलेसम्म अमेरिकाले मोडेर्ना र फाइजरबाट ३ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ । जुन आधाभन्दा कम जनसंख्याका लागिमात्र प्रयाप्त हुनेछ । दुई डोज भ्याक्सिन दिनुपर्ने भएकाले उक्त भ्याक्सिन १५० मिलियनलाई प्रयाप्त हुनेछ ।





