ट्रम्पका न्यायमन्त्री विलियम बारले दिए राजिनामा


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

ट्रम्प प्रशासनका न्यायमन्त्री अर्थात् एटोर्नी जनरल बिलियम बारले राजिनामा दिएका छन् । अमेरिकामा एटोर्नी जनरल नै डिपार्टमेन्ट अफ जस्टिसका प्रमुख हुन् भने यो क्याबीनेटको पद हो ।

डोनाल्ड ट्रम्पको वफादार भएर काम गरेका उनको पछिल्लो चरणमा ट्रम्पसँग चुनावबारे मतभेद भएको थियो । ट्रम्पले चुनावमा धाँधली भएको बताइरहँदा डिपार्टमेन्ट अफ जस्टिसले नतिजा नै परिवर्तन हुने गरी चुनावमा धाँधली भएको कुनै प्रमाण नभेटिएको घोषणा गरेको थियो ।

डोनाल्ड ट्रम्पले चुनावमा ब्यापक धाँधली भएको भन्दै मुद्दामामला गरिरहेको सन्दर्भमा विलियम बारको यो घोषणाले ट्रम्प आक्रोशित भएका थिए । उनले चुनावमा धाँधलीका लागि एफबीआई र डिपार्टमेन्ट अफ जस्टिससमेत संलग्न भएको आरोप लगाएका थिए ।

ट्रम्पले गतबर्षको फरबरीमा बारलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । बारको राजिनामा पछि ट्रम्पले आफूहरुको सम्बन्ध निकै राम्रो रहेको भन्दै ट्वीट गरेका छन् । उप महान्यायाधिवक्ता जेफ रोसेनले अब कार्यकारी महान्यायाधिवक्ताका रुपमा काम गर्नेछन् ।

बारले सन् १९९१ मा राष्ट्रपति जर्ज बुसका पालामा पनि महान्यायाधिवक्ताका रुपमा काम गरेका थिए । बार रिपब्लिकन पार्टीका सदस्यसमेत हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com