अमेरिकी सरकारका अर्थ र वाणिज्य मन्त्रालयमा साइबर हमला
प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार
ह्याकरहरुले अमेरिकी सरकारका अर्थ र वाणिज्य मन्त्रालयका वेवसाइटहरुमा पहुँच कायम गरेको जनाइएको छ । यसका पछाडि रसियन सरकारका ह्याकरहरु संलग्न भएको श्रोतको हवाला दिंदै वासिंटन पोष्टले समाचार प्रकाशित गरेको छ ।
एफबीआईएसले घटनाको अनुसन्धान गरिहेको जनाइएको छ । ह्याकरहरुले सरकारी वेवसाइटबाट कस्तो खालको सुचनामा पहुँच कायम गर्न सफल भए भन्नेबारे केही खुलाइएको छैन । रोयटर्सले आइतबार अमेरिकाका अर्थ र वाणिज्य मन्त्रालयका वेवसाइटहरु ह्याक भएको समाचार पहिलोपटक प्रकाशित गरेको थियो ।
विषय निकै नै गम्भिर भएको भन्दै राष्ट्रिय सुरक्षा परिषदको आपतकालिन बैठक समेत बसिएको छ । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन उलयोटले अमेरिकी सरकार रिपोर्टबारे सचेत रहेको र आवश्यक कदम चालिएको बताएका छन् । कोजि बियर वा एपीटी २९ नामको समुहले ह्याक गरेको बताइएको छ, जसले रसियाको विदेश खुफिया सेवासँग काम गर्दै आएको छ ।
यही समुहले ओबामा प्रशासनका बेलामा ह्वाइट हाउस र विदेश मन्त्रालयका वेवसाइटहरु ह्याक गरेको थियो । एपीटी २९ नामको यो समुहले कोरोना भ्याक्सिनबारेका शोधहरु चोर्ने प्रयास समेत गरेको थियो । गत साता यो समुहले साइबर सेक्युरिटी फर्म फायर आई ह्याक गरेको थियो ।
वाणिज्य मन्त्रालयमा रसियनहरुले नेशनल टेलिकम्युनिकेशन र इन्फर्मेशन प्रशासनलाई निशाना बनाएको जनाइएको छ । यो एजेन्सीले इन्टरनेट र टेलिकम्युनिकेशन नीति हेर्दै आएको छ ।