अमेरिकामा कडा सैन्य सुरक्षाकाबीच फाइजर भ्याक्सिन बोकेका ट्रक ६३६ स्थानतर्फ प्रस्थान


प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनका डोजहरु बोकेर मिसिगनको फाइजर प्लान्टबाट ट्रकहरु प्रस्थान गरेका छन् । लामो समयदेखि प्रतिक्षारत कोरोनाबिरुद्धका भ्याक्सिनका पहिलो चरणका डोजहरु बोकेर आइतबार विहान ट्रकहरु अमेरिकाका विभिन्न ६३६ स्थानहरुतर्फ लागेका हुन् ।

फाइजरले यसैसातामात्र युपीएस र फेडेक्समार्फत २ दशमलव ९ मिलयन भ्याक्सिनका डोजहरु डेलिभर गर्ने भएको छ । अमेरिकाको सैन्य टोलीको स्कर्टिङमा भ्याक्सिनहरु पठाइएको हो । बाटोमा हुनसक्ने सम्भावित असुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

ती डोजहरु छानिएका अस्पाल प्रणालीहरुमा सोमबारसम्म डेलिभर गरिने भएको छ । अमेरिकामा सोमबारदेखि भ्याक्सिन वितरण सुरु हुने अपेक्षा गरिएको छ ।

फाइजरले मिसिगन, मिजौरी र मासाचुसेट्समा रहेका प्लान्टहरुमा भ्याक्सिनका डोजहरु उत्पादन गरिरहेको छ । फाइजरका भ्याक्सिन यो शताब्दीकै सबैभन्दा खतरनाक महामारीको अन्त्यका लागि सहयोगी सावित हुने अपेक्षा गरिएको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले शुक्रबार राती कोरोनाबिरुद्ध फाइजर भ्याक्सिन प्रयोगका लागि स्वीकृत गरेको हो ।

आपतकालिन अवस्थामा एफडीएले औषधी वा भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमति दिनुसक्छ । सोही अनुरुप आपतकालिन प्रयोगको अनुमति दिइएको हो । पूर्ण अनुमतिका लागि फाइजरले भविश्यमा छुट्टै आवेदन दिनुपर्छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन्।

केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

यसैबीच अमेरिकी सरकारले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने भएको छ । मोडेर्नाको भ्याक्सिन अमेरिकाले आगामी साता प्रयोगका लागि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।

प्रयोगको स्वीकृति पाएमा मोडेर्नाले यसै महिना २० मिलियन डोज प्रदान गर्नेछ भने ८० मिलियन डोज जनवरीमा प्रदान गर्नेछ । अब अमेरिकासँग मोडेर्ना भ्याक्सिनका कुल २ सय मिलियन डोज हुनेछन् । अमेरिकासँग मोडेर्नाबाट अरु ३ सय मिलियन डोज भ्याक्सिन किन्ने विकल्प रहेको छ ।

अहिलेसम्म अमेरिकाले मोडेर्ना र फाइजरबाट ३ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ । जुन आधाभन्दा कम जनसंख्याका लागिमात्र प्रयाप्त हुनेछ । दुई डोज भ्याक्सिन दिनुपर्ने भएकाले उक्त भ्याक्सिन १५० मिलियनलाई प्रयाप्त हुनेछ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com