अमेरिकाले मोडेर्ना भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने, ३ सय मिलियन डोज सुरक्षित


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

अमेरिकी सरकारले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने भएको छ । मोडेर्नाको भ्याक्सिन अमेरिकाले आगामी साता प्रयोगका लागि स्वीकृत गर्ने अपेक्षा गरिएको छ ।

प्रयोगको स्वीकृति पाएमा मोडेर्नाले यसै महिना २० मिलियन डोज प्रदान गर्नेछ भने ८० मिलियन डोज जनवरीमा प्रदान गर्नेछ । अब अमेरिकासँग मोडेर्ना भ्याक्सिनका कुल २ सय मिलियन डोज हुनेछन् । अमेरिकासँग मोडेर्नाबाट अरु ३ सय मिलियन डोज भ्याक्सिन किन्ने विकल्प रहेको छ ।

अहिलेसम्म अमेरिकाले मोडेर्ना र फाइजरबाट ३ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ । जुन आधाभन्दा कम जनसंख्याका लागिमात्र प्रयाप्त हुनेछ । दुई डोज भ्याक्सिन दिनुपर्ने भएकाले उक्त भ्याक्सिन १५० मिलियनलाई प्रयाप्त हुनेछ । अमेरिकाले आगामी एकसयदिनमा एकसय मिलियनलाई भ्याक्सिन प्रदान गर्ने लक्ष्य लिएको छ ।

अमेरिकी सरकारले फाइजरसँग एकसय मिलियन डोज किनेको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको उक्त भ्याक्सिनलाई अमेरिकी सरकारको खाद्य तथा औषधी प्रशासनले शुक्रबार प्रयोगको अनुमति समेत दिइसकेको छ ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्ध फाइजर भ्याक्सिन प्रयोगका लागि स्वीकृत गरेको छ । एफडीएले  सोमबारदेखि भ्याक्सिन लगाउने काम सुरु हुने अपेक्षा गरेको छ ।

आपतकालिन अवस्थामा एफडीएले औषधी वा भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमति दिनुसक्छ । सोही अनुरुप आपतकालिन प्रयोगको अनुमति दिइएको हो । पूर्ण अनुमतिका लागि फाइजरले भविश्यमा छुट्टै आवेदन दिनुपर्छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन भएको छ । स्वास्थ्यमन्त्री एलेक्स आजरले फाइजरको भ्याक्सिनको पहिलो शटहरु छिटोमा सोमबार लगाउन सम्भव हुने बताएका छन् । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

एफडीएले भ्याक्सिन उत्पादक, सीडीसी र संघीय भ्याक्सिन कार्यक्रमलाई समयमै भ्याक्सिन वितरणको काम सुरु गर्नसक्ने जानकारी दिइसकेको छ ।  हरेक राज्यहरुले भ्याक्सिन वितरणका आआफ्ना योजनाहरु बनाउन सक्नेछन् ।

बिहिबारमात्र अमेरिकाको खाद्य तथा औषधी प्रशासनको भ्याक्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि एफडीएलाई सिफारिस गरेको थियो । प्यानलमा भएको मतदानमा १७ जनाले स्वीकृतिको पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।

भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन्।

केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्नाको भ्याक्सिन डिसेम्बरको तेश्रो साता स्वीकृत हुने अपेक्षा गरिएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com