भरेसम्म भ्याक्सिन स्वीकृत नगरे राजिनामा दिन एफएडीए प्रमुखलाई ह्वाइट हाउसको चेतावनी


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

भरेसम्म भ्याक्सिन स्वीकृत नगरे राजिनामा दिन अमेरिकाको खाद्य तथा औषधी प्रशासन प्रमुख स्टेफन हानलाई ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजले चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफडीए एकदम ठूलो, बुढो र सुस्त कछुवा रहेको भन्दै ट्वीट गरे लगत्तै एफडीए प्रमुखलाई यस्तो चेतावनी दिइएको जनाइएको छ ।

यस्तो चेतावनीपछि अब एफडीएलाई भ्याक्सिन स्वीकृतिका लागि तालिका अगाडि सार्न दवाव श्रृजना भएको छ । एफडीएले शनिबार विहान भ्याक्सिन स्वीकृत गर्नेगरी तालिका बनाएको थियो । ह्वाइट हाउसका अधिकारीहरुले चिफ अफ स्टाफ र एफडीए प्रमुखबीच भएका गोप्य कुराकानीबारे प्रतिकृया नजनाउने बताएका छन् । तर चिफ अफ स्टाफले दैनिक भ्याक्सिनबारे अपडेट लिने गरेको भने उनीहरुले बताएका छन् ।

एफडीएले शुक्रबार विहान कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन स्वीकृतिका लागि तीब्र गतिमा काम गरिरहेको बताउँदै अमेरिकामा सोमबारदेखि भ्याक्सिन लगाउने काम सुरु हुने अपेक्षा गरेको थियो ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हुने भएको छ । स्वास्थ्यमन्त्री एलेक्स आजरले पनि फाइजरको भ्याक्सिनको पहिलो शटहरु छिटोमा सोमबार लगाउन सम्भव हुने बताएका छन् । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

एफडीएले भ्याक्सिन उत्पादक, सीडीसी र संघीय भ्याक्सिन कार्यक्रमलाई समयमै भ्याक्सिन वितरणको काम सुरु गर्नसक्ने जानकारी दिइसकेको छ । अमेरिकाले डिसेम्बरभित्र २० मिलियन, जनवरीमा ३० मिलियन र फरबरीमा ५० मिलियन भन्दा बढी फाइजर र मोडेर्नाका भ्याक्सिनका डोजहरु प्राप्त गर्ने भएको छ । हरेक राज्यहरुले भ्याक्सिन वितरणका आआफ्ना योजनाहरु बनाउन सक्नेछन् ।

बिहिबारमात्र अमेरिकाको खाद्य तथा औषधी प्रशासनको भ्याक्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि एफडीएलाई सिफारिस गरिसकेको छ । प्यानलमा भएको मतदानमा १७ जनाले स्वीकृतिको पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।

भ्याक्सिनको ९५ प्रतिशत प्रभावकारितालाई एफडीएले सुनिश्चित गरिसकेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

खोपका कारण रोग लाग्दैन। बरु तोकिए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जुध्न उनीहरूले हाम्रो शरिरको रोग प्रतिरोधी प्रणालीलाई सिकाउँछन्।

केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ । यो रोग नभइ खोपका कारण शरिरमा उत्पन्न प्रतिक्रिया हो। खोपका कारण अरू एलर्जीहरू देखा पर्नु एकदमै दुर्लभ हो।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्नाको भ्याक्सिन डिसेम्बरको तेश्रो साता स्वीकृत हुने अपेक्षा गरिएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com