फाइजरको भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको एफडीएको निष्कर्ष, स्वीकृतिका लागि बिहिबार बैठक
प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार
अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले फाइजरको कारोनाबिरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको विश्लेषण मंगलबार विहान सार्वजनिक गरेको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको यो भ्याक्सिनको अमेरिकाका प्रयोगको स्वीकृतिका लागि बिहिबार बैठक बस्नेछ । त्यसपछि उक्त भ्याक्सिन अमेरिकामा प्रयोगका लागि आपतकालिन अनुमति दिइने अपेक्षा गरिएको छ ।
एफडीएले मंगलबार विहान सार्वजनिक गरेको विश्लेषणको पूर्ण पाठ
एफडीएले फाइजरको भ्याक्सिनमा सुरक्षा सम्बन्धि कुनै जोखिम नरहेको विश्लेषण सार्वजनिक गरेको छ । गम्भिर खालको साइड इफेक्टहरु दुर्लभ रहेको र सामान्य साइड इफेक्टहरुमात्र रहेको जनाइएको छ । भ्याक्सिनपछि सामान्य टाउको दुख्ने लगायतका साइड इफेक्ट भने हुनसक्न जनाइएको छ ।
भ्याक्सिनको ९५ प्रतिशत प्रभावकारितालाई एफडीएले सुनिश्चित गरेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।
बिहिबार भ्याक्सिन सम्बन्धि सल्लाहकार समितिले भ्याक्सिन स्वीकृत गरेमा त्यसको एकदुई दिनमा नै वितरणको बन्दोबस्त मिलाउने तयारीमा अमेरिकी सरकार रहेको छ । अमेरिकाले फाइजरका एकसय मिलियन डोजहरु बुक गरेको छ, जुन ५० मिलियन जनसंख्यालाई लगाउन प्रयाप्त हुनेछ ।
मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्नाको भ्याक्सिन डिसेम्बरको तेश्रो साता स्वीकृत हुने अपेक्षा गरिएको छ । मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।