गरीब मुलुकलाई दिइने खोपको आशामा सरकार, आकाशको फल हेर्दै जनता


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

–किशोर नेपाल

पूरै देशको कुरा नगरौं । कोभिड – १९ को छायाँमा कसरी नेपालको संघीय राजधानी काठमाडौं टोलाइ रहेकोछ ? अहिले यति नै सोच्नु पर्याप्त हुनेछ । काठमाडौंका मानिस कहिल्यै मुख लुकाएर हिंडेनन । अहिले मास्क नलगाईकन ठूलठूला दुस्साहसी पनि घरबाट निस्किदैनन । ‘मुख लुकाएर हिंडनु’ लाई नकारात्मक भावमा नहेरौं । मास्कको बिक्रि व्हात्तै बढेकोछ । तर, यसबाट जनतालाई एक पैसापनि फाइदा भएको छैन । नेपालमा नै खोलिएकाछन ठूलो स्केलमा मास्क बनाउने कारखाना । तर, बजारमा चीनियाँ मास्क नै सुपथ उपलब्ध छन । देशको आकार नै सानो भएपछि ठूलो आकारको कारखाना बन्ने सम्भावना रहँदैन । मानिसले सबै कुरा आफनो औकात अनुसार नै गर्ने हो । लगानीकर्ताले गर्नेपनि त्यही हो ।

कोभिड – १९ निरोधक भ्याक्सिन बनेको खबर आएपछि काठमाडौं शहर खुशी भएकोछ । सरकार पनि खुशी छ । तर, खुशीमा के के नपुगेको स्पष्टै थाह हुन्छ । यति धेरै खुशी हुनुपर्ने आबश्यकता पनि थिएन ।

नेपाल सरकारले बहुप्रतीक्षित कोरोना भ्याक्सिन ल्याएर जनताको उध्दारगर्ने होहल्ला गर्न थालेकोछ । तर, सरकारसंग भ्याक्सिन किन्ने बजेट छैन । त्यसैले होला, सरकारको व्यवस्थापकीय तयारी पनि शून्य छ । जसो पर्छ, त्यसै टर्छ भन्ने मानसिकताले थिचेकोछ । यो अवस्थामा सरकारका आँखा कोभ्याक्स अन्तर्गत गरीब मुलुकलाई निःशुल्क रुपमा उपलब्ध गराइने भनिएको खोपमा गाडिएकाछन भने यसलाई अन्यथा लिनु हुँदैन ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

त्यो बाहेक खरीद गरेर भ्याक्सिन भित्र्याउने औकात पनि छैन, कार्यक्रम पनि छैन ।

कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा.श्यामराज उप्रेती बताउँछन, सरकार कोभ्याक्स मार्फत खोप ल्याउन प्रतिक्षारत रहेकोछ । डब्लुएचओ, गाभी लगायत अन्तर्राष्ट्रिय स्वास्थ्य निकायको सञ्जाल मार्फत गरीब मुलुकलाई दिइने खोपको आशामा रहेकोछ सरकार ।

यही हो हाम्रो समृध्दि ! यही हो हाम्रो सामथ्र्य !

च्यारिटीमा पाइने भनिएको २० प्रतिशत भ्याक्सिनमध्ये शुरुमा ३ प्रतिशत देशभित्र ल्याइनेछ । यति भ्याक्सिनले ९ लाख जनसंख्यालाई पुग्नेछ । दोस्रो चरणमा ल्याइने १७ प्रतिशत भ्याक्सिनले झण्डै ६० लाख जनसंख्यालाई समेट्नेछ । कोभ्याक्सको गाइडलाइन अनुसार, फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप लगाउनु पर्ने व्यवस्था गरिएकोछ ।

नेपालमा १५ वर्ष मुनिका बालबालिकालाई यो खोप कार्यक्रममा समेटिएको छैन । विश्वका कुनै पनि मुलुकमा बालबालिकाको लागि कोरोना खोपको ट्रायल नभएको जानकारी बिज्ञहरुले दिएकाछन । नेपालमा कुल जनसंख्याको २८ प्रतिशत बालबालिका रहेका छन् ।

त्यसबाहेक, बाँकी रहेका ७२ प्रतिशत जनसंख्याका लागि खोप ल्याउने सम्बन्धमा सरकारले सोचेको पाइदैन । सबै जनतालाई खोपको व्यवस्था गर्न कम्तीमा ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ । तर, सरकारले अहिलेसम्म बजेट विनियोजन गर्न सकेको छैन । अर्थ मन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुख धनीराम शर्माले कोरोना खोपको लागि बजेटको व्यवस्था नगरिएको बताए ।

नेपालमा २ देखि ८ डिग्रि सेल्सियस तापक्रम र केही स्थानमा माइनस २० डिग्रि सेल्सियसमा भण्डारण गर्न सकिने बाहेक अर्को ‘कोल्ड चेन’ छैन ।

कोल्ड चेन अर्थात भण्डारणको दृष्टिले तीन खालका खोप बनेकाछन । अमेरिकाको मोडेर्ना र फाइजर लगायतका कम्पनिव्दारा उत्पादित खोप बढी चर्चामा रहेका छन् । मोडेर्ना र फाइजर दुवै खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको दावी गरिएका छन् । जर्मनीको बायोएनटेकसँग मिलेर फाइजरले उत्पादन गरेको खोपलाई अमेरिकी नियामक निकायमा आपतकालिन प्रयोगकोलागि निवेदन दिइएको छ । अमेरिकी खाद्य औषधि प्रशासन (एफडीए)को एक समितिको डिसेम्बर १० मा बस्ने बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

फाइजरको खोप भण्डारणको लागि नेपालमा पूर्वाधार छैन । फाइजरको खोप निकै चिसो अर्थात माइनस ७५ डिग्रि सेल्सियसमा भण्डारण गर्नुपर्ने बताइएको छ । फाइजरद्धारा उत्पादित खोपको भण्डारणको लागि विशेष तयारी गर्नु पर्ने बताउँछन, कोभिड खोप भण्डारण समितिका संयोजक समेत रहेका चुडामणि भण्डारी ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको खोप परीक्षणको अन्तिम चरणमा रहेको छ । नेपालका लागि अक्सफोर्डको खोप सस्तो र भण्डारण गर्न सहज हुने खालको रहेको बताइन्छ । अक्सफोर्डको भन्दा फाइजर र मोडेर्नाको खोपको मूल्य ५ गुणा बढी रहेको छ । फाइजरको खोप मात्र स्वीकृत भएको अवस्थामा हामी पनि तयारी अवस्थामा रहनु पर्छ भन्दछन स्वास्थ्यका अधिकारी ।

जनस्वास्थ्य विज्ञ एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का पूर्व निर्देशक डा. बाबुराम मरासिनी “कोरोना खोप नेपालको लागि आकाशको फल” सरह भएको बताउँछन । उनी भन्दछन – कोभ्याक्स मार्फत गरिब मुलुकलाई उपलब्ध हुने खोपका अतिरिक्त अरु खोप खरीद गरेर ल्याउने ल्याकत सरकारमा देखिंदैन । जनताले आश गर्ने हो । भर पर्नु हुँदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com