मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका उच्च पदमा बाइडेनका १३ रोजाइमा ८ महिला


प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

मन्त्रिपरिषद्, सो सरह र ह्वाइट हाउसका उच्च पदमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिलेसम्म १३ जना छानेका छन् । जसमध्ये ८ जना महिला रहेका छन् । उपराष्ट्रपतिमा कमला ह्यारिसलाई छानेर इतिहास कायम गरेका बाइडेनले अर्थमन्त्री (सेक्रेटरी अफ द ट्रेजरी) मा जानेट यलेनलाई बाइडेनलाई रोजेर अर्को नयाँ इतिहास कायम गर्दैछन् ।

मन्त्रिपरिषद्मा अहिलेसम्म विदेशमन्त्री (सेक्रेटरी अफ स्टेट) मा एन्टोनी ब्लींकेन र गृहमन्त्री (सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी) मा अलेहान्द्रो मेयरकासलाई रोजेका छन् । अलेहान्द्रो मेयरकास नियुक्त भएमा उक्त पदमा पुग्ने उनी पहिलो ल्याटिनो हुनेछन् ।

त्यस्तै मन्त्रिपरिषद् सरहकै पोर्टफोलियो रहेका र ह्वाइट हाउसका उच्च पदस्थहरुमा पनि बाइडेनले उल्लेख महिलाहरु रोजिसकेका छन् । बाइडेनले अफिस अफ द मेनेजमेन्ट एण्ड बजेट डाइरेक्टरमा नीरा टण्डन, राष्ट्रिय खुफिया निर्देशकमा एभ्रिल हेन्स, राष्ट्रसंघका लागि राजदूतमा लिण्डा थोमस ग्रिनफिल्ड, काउन्सिल अफ इकोनोमिक एड्भाइजरको चेयरमा सेसेलिया राउस, संचार निर्देशकमा केट बेडिंगफिल्ड र प्रेस सेक्रेटरीमा जानिफर साकीलाई रोजेका छन् ।

बाइडेनको रोजाइमा परेका चिफ अफ स्टाफ रोन क्लेन, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान र जलवायुका लागि राष्ट्रपतिका विशेष दूतमा जोन केरी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कमला ह्यारिस

कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला समेत हुन् । कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन् । उनका बुबा जमैकाबाट अमेरिका आएका थिए भने आमा भारतबाट अमेरिका आएकी थिइन् ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै आएकी थिइन् । कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् ।

जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् । कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।

जानेट यालेन

यालेन फेडरल रिजर्भकी पूर्व अध्यक्ष समेत हुन् । अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर समेत रहेकी उनी फेडरल रिजर्भको प्रमुखको जिम्मेबारी सम्हाल्ने समेत पहिलो महिला थिइन् ।

एभ्रिल हेन्स

एभ्रिल हेन्ससीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । अमेरिकाको खुफियामा पहिलोपटक महिलालाई नेतृत्व दिइने भएको छ ।

अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।

लिण्डा थोमस ग्रिनफिल्ड

लिण्डा सन् २०१३ देखि सन् २०१७ सम्म ओबामा कार्यकालमा अमेरिकी विदेशमन्त्रालयमा अफ्रिकन अफेयर्सको लागि सहायक विदेशमन्त्री रहेकी थिइन् । लुजियानामा जन्मिएकी उनी अमेरिकाकी चर्चित अश्वेत कुटनीतिज्ञ हुन् । उनले स्वीटजरल्याण्ड, पाकिस्तान, केन्या, गाम्बिया, नाइजेरिया र जमैकामा अमेरिकी कुटनीतिज्ञका रुपमा काम गरिसकेकी छिन् ।

नीरा टण्डन

नीरा टण्डन

टण्डन सेन्टर फर अमेरिकन प्रोग्रेसकी प्रमुख कार्यकारी हुन् । यो बाम झुकाव भएको केन्द्रका रुपमा परिचित रहेको छ । टण्डन भारतीय मुलकी हुन् । उनका बाबुआमा भारतबाट अमेरिका बसाई सराई गरेका थिए । टण्डन नियुक्त भएमा उनी उक्त अफिसको नेतृत्व गर्ने पहिलो अश्वेत महिला हुनेछिन् ।

उनी सन् १९७० मा अमेरिकाको मासाचुसेट्समा जन्मिएकी हुन् । उनका एकजना भाई राज टण्डन रहेका छन् । जब उनी ५ बर्षकी थिइन्, तब उनका बुबाआमाको डिभोर्स भएको थियो । पारपाचुकेपछि उनकी आमा माया टण्डनले नीरा र राजलाई हुर्काउनका लागि वेलफेयरको सहायता लिनु परेको थियो । फुडस्ट्याम्प र आवासीय सुविधा समेत लिएर आमाले निरा र उनका भाईलाई हुर्काइन् ।

नीराले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट आर्टसमा ब्याचलर गरेकी थिइन् भने यल युनिभर्सिटीबाट जुरिस डाक्टर गरेकी थिइन् । त्यसपछि वासिंटनमा डिसीमा क्यापिटल हिलमा उनले घरेलु नीतिबारे काम गरिन् । उनी डेमोक्रेटिक पार्टीभित्रकी प्रगतिशिल व्यक्तित्वका रुपमा चिनिन्छिन् ।

नोभेम्बर ३ को चुनावबाट अमेरिकी राष्ट्रपति हुने निश्चित भएका जो बाइडेनलाई आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । त्यसपछि जनवरीको पहिलो साता यसको घोषणा गरिनेछ र जनवरी २० मा बाइडेनले सपथग्रहण गर्नेछन् ।

सेसेलिया राउस

सेसेलिया राउस अमेरिकन अर्थशास्त्री हुन् । उनी प्रिन्स्टन युनिभर्सिटीमा प्रिन्स्टन स्कुल अफ पब्लिक एण्ड इन्टरनेशनल अफेयर्सकी डिन समेत हुन् । ओबामा राष्ट्रपति हुँदा सन् २००९ देखि सन् २०११ सम्म उनी राष्ट्रपतिको आर्थिक सल्लाहकार परिषदकी सदस्य समेत थिइन् । उनले बिल क्लिन्टनका पालामा राष्ट्रिय आर्थिक परिषदमा समेत सन् १९९८ देखि सन् १९९९ सम्म काम गरेकी थिइन् ।

केट बेडिंगफिल्ड

३७ बर्षकी केट बेडिंगफिल्डले गत नोभेम्बर ३ मा सम्पन्न चुनावमा जो बाइडेनको अभियानमा सहायक अभियान म्यानेजरका रुपमा काम गरेकी थिइन् । बाइडेन उपराष्ट्रपति हुँदा उनी बाइडेनकी संचार निर्देशक समेत थिइन् । ओबामा प्रशासनमा उनले मिडिया मामलामा सहायक निर्देशक र रेस्पोन्स निर्देशकका रुमिा समेत काम गरेकी थिइन् । सरकार र राजनीतिमा ४० बर्ष मुनीमा प्रभावशाली व्यक्तिमा फच्र्युनले उनको नाम प्रकाशित गरेको थियो ।

जानिफर साकी

जानिफर साकी अमेरिकन राजनीतिक सल्लाहकार हुन् । उनी ओबामाका पालामा सन् २०१५ देखि सन् २०१७ सम्म ह्वाइटहाउसमा संचार निर्देशक समेत थिइन् । त्यसभन्दा अगाडि उनी अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ता समेत थिइन् । उनले सन् २००९ देखि २०११ सम्म ह्वाइट हाउसमा सहायक संचार निर्देशक भएर काम गरिन् भने सन् २००९ भरी ह्वाइट हाउसमा सहायक प्रेस सेक्रेटरी समेत भइन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com