एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् । लामो समय बिरामी भएर बालिकाका बुवाको निधन भयो । बुवाको निधनपछि आमा र बालिकाको स्वास्थ्य परीक्षण गर्दा एचआइभी सङ्क्रमण पुष्टि भयो । आमाछोरी दुवैले टीकापुर अस्पतालबाट एआरटी सेवन गरिरहेका छन् । लम्कीकै एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकासँग अन्य बालबालिका बस्न, खेल्न, सँगै खाजा खान मान्दैनन् । “मसँग साथीहरु नजिक आउनै मान्दैनन्, मलाई अपराधीजस्तो गर्छन्”, बालिकाले भनिन्, “म चार वर्षको हुँदा सङ्क्रमण पुष्टि भयो । म त पेटमै सङ्क्रमित भएर जन्मिएकीरहेछु भन्ने पछि थाहा भयो । सङ्क्रमित हुनुमा मेरो के दोष ?”

बालिका विद्यालयमा गरिने विभेदका कारण पढाइमा रुचि नजागेको बताउँछिन् । “म नियमित विद्यालय जादिनँ, आमाले पढ्नुपर्छ भन्नुहुन्छ”, बालिका भन्छिन्, “हामी चार भाइबहिनी छौँ, हामीलाई हुर्काउन आमालाई निकै दुःख भएको छ । पढेर जागिर खाएर आमा पाल्न मन छ तर विद्यालय जाँदा निकै तनाव हुन्छ ।”

जोशीपुरका १३ वर्षीया बालक ४ कक्षामा पढ्छन् । बालकका बुबाआमा दुवैको निधन भइसकेको छ । ज्येष्ठ नागरिक हजुरबुवाको संरक्षणमा रहेका बालकलाई पनि विद्यालयमा गरिने विभेदले असह्य हुन्छ । “म पढाइमा राम्रो छु । सधैँ कक्षामा तृतीय स्थान ल्याउँछु, विद्यालयमा मेरा कोही साथी छैनन्”, बालक भन्छन्, ‘‘मेरो नजिक कोही आउनै मान्दैनन्, अनि मलाई पनि कक्षामा बस्न मन लाग्दैन । म नियमित विद्यालय जान्नँ । नियमित पढेको भए म प्रथम हुन्थेँजस्तो लाग्छ ।”

एचआइभी एड्सको प्रभावकारी रोकथाम, हेरचाह तथा उपचार सेवासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिए पनि सङ्क्रमितले अहिले पनि विभेद भोगिरहेको नवजीवन एकता समाजका अध्यक्ष जगत् भण्डारी बताउँछन् । “हामीले सङ्क्रमित बालबालिकाको शिक्षा आर्जन सहज गराउन लामो समयदेखि काम गरिरहेका छौँ, तर समस्या समाधान भएको देखिँदैन”, भण्डारी भन्छन्, “सङ्क्रमित अभिभावकका बालबालिका र स्वयं सङ्क्रमित बालबालिकाको निःशुल्क शिक्षाका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा पहल गरेका छौँ । उनीहरुलाई आवश्यक कापी किताब, पोशाकका लागि पनि सक्दो सहयोग गरिरहेका छौँ ।” भण्डारीको पहलमा कैलालीको टीकापुरका तीनवटा होटलमा बालबालिकाको शिक्षामा सहयोग सङ्कलन पेटिका राखिएका छन् । “तीन पेटिकामा वार्षिक जम्मा भएको रकम सङ्क्रमित बालबालिकालाई सहयोग गर्छौँ”, अध्यक्ष भण्डारीले भने, “एचआइभी सङ्क्रमितलाई समाजमा गरिने विभेद अन्त्य हुनुपर्छ । अन्य नागरिकसरह सङ्क्रमितले पनि समाजमा बस्न, रमाउन, काम गर्न पाउनुपर्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसका साथै सङ्क्रमितलाई अन्य नागरिकभन्दा बढी पोषण, आराम र उपचार आवश्यक पर्ने भएकाले उनीहरुको जीविकोपार्जनका लागि सबै सहयोगी बन्नुपर्ने उनको माग छ । कैलालीको टीकापुर अस्पतालबाट ५१६ जनाले एआरटी सेवन गरिरहेका छन् । तीमध्ये २९० महिला, १८४ पुरुष र ४२ बालबालिका छन् । एएचएफ नेपालका मदन परियार सङ्क्रमितमा महिलाको सङ्ख्या धेरै रहेको बताउँछन् । ‘‘श्रीमान् बितेपछि एकल भएका महिला तथा तीनका बच्चा सङ्क्रमित हुँदा उनीहरुको जीविकोपार्जनमा समस्या भएको छ”, परियार भन्छन्, “एकल भएका सङ्क्रमित महिलालाई खानकै समस्या छ ।”

कैलालीको टीकापुरमा स्थापना भएको नवकिरण प्लसले सङ्क्रमितको जीवन माथि उकास्न विभिन्नखाले सहयोग गर्दै आएको छ । बसोबासको समस्या भएका सङ्क्रमित बासगाँस र एआरटी सेवन गर्न अस्पताल आउने सङ्क्रमितलाई यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।

  1. नवजीवन प्लसका वित्त अधिकृत धनबहादुर चौधरीका अनुसार कैलालीका १२४ बालबालिकालाई सामाजिक सुरक्षा अनुदान उपलब्ध गराउने गरिएको छ । “बालबालिकालाई मासिक रु एक हजारका दरले आर्थिक सहयोग गछौँ, उनीहरुको शिक्षा आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्य हो”, चौधरीले भने, “१२४ बालबालिकाले यो सुविधा लिइरहेका छन्, मासिक एक लाख २४ हजार बालबालिकालाई वितरण गर्छौँ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com