खाद्य ऐन उल्लङ्घन गर्नेमा पानी उद्योग पहिलो नम्बरमा


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा खाद्यसम्बन्धीका एक हजार १८९ नमूना सङ्कलन गरिएकामा ७० नमूना मापदण्डानुसार नभएको पाइएको विगभका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी  दिए । त्यसमध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका २१, दानाका १६, तेल तथा घ्यूजन्य नमूना १४, खाद्यान्न १० लगायतका अन्य खाद्य पदार्थका नमूना रहेको उनले बताए ।

यस्तै खाद्य स्वच्छता सर्भिलेन्सका लागि ८७६ नमूना सङ्कलन गरिएको छ । सो अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा २६ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी पिउनेपानीका पाँच उद्योग परेका छन् । खानेतेलका तीन, बेकरी तीन, दाना, चाउचाउ, मिठाइका दुई-दुई लगायत घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रङ, बियर, मटरफ्राइजस्ता खाद्य पदार्थ उत्पादन गर्ने उद्योग तथा व्यवसाय रहेका छन् । उक्त मुद्दामध्ये आठ मुद्दा न्यून गुणस्तरका, सात मुद्दा दूषितका, सात मुद्दा लेबललगायतका विवरण नमिलेका तथा बाँकी चार मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लङ्घनसम्बन्धी छन् ।

पहिलो चौमासिकमा मुलुकभर खाद्य र दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटललगायत एक हजार ८७३ पटक निरीक्षण अनुगमन भएको छ । उक्त अवसरमा १५३ उजुरी कारवाही गरिएको छ । विभाग तथा मातहतका कार्यालयबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन नगर्ने ३४ उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूना सङ्कलन गरी कारवाही अघि बढाइएको छ । त्यसमा पनि सबैभन्दा बढी प्रशोधित पिउने पानीका उद्योग तथा व्यवसाय नै रहेका छन् । प्राप्त विवरणअनुसार पानीका १५ उद्योग, खाद्यान्न तथा दलहनका आठ, दूध तथा दुग्ध पदार्थका छ, तेल तथा घ्यूजन्यका तीन र अन्य तीन खाद्य व्यावसाय रहेका प्रवक्ता महर्जनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको विभागले जनाएको छ । आव २०७७/७८ को पहिलो चौमासिक अवधिमा जम्मा नौ हजार ५५ आयात अनुमति जारी गरिएको छ । विभिन्न १२ नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा २५ हजार १५४ वटा नमूना प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको जनाइएको छ ।  त्यसमध्ये पापड, चामल, बदाम, मसला, मैदा, वेसनलगायतका २५ वटा नमूना प्रतिकूल पाइएपछि आयात रोक्का गरिएको विभागले जानकारी दिएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

खाद्य पदार्थको विश्लेषण, परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयबाट हुँदै आएको जनाइएको छ । काठमाडौँलगायत मुलुकका ४३ कार्यालयबाट उक्त सेवा र अनुगमन हुँदै आएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com