विश्व एड्स दिवस : खुल्दै एचआइभी संक्रमित


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

आज विश्व एड्स दिवस । कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स संक्रमितहरु पछिल्लो समय विस्तारै खुल्न थालेका छन् । धौलागिरी अस्पतालको ‘एआरटी’ सेन्टर र एड्स सम्बन्धी काम गर्ने गैह्र सरकारी संस्थाको प्रभावकारी समन्वयमा बागलुङमा रहेका एचआइभी संक्रमितहरु खुल्न थालेका हुन् । धौलागिरी अस्पताल बागलुङमा २०६३ सालमा स्थापना भएको एआरटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, संक्रमितहरुको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारलगायतका कारण संक्रमितहरु खुलेर आउन थालेका हुन् ।

एचआइभी संक्रमितहरु पनि अरु मानिस सरह बाच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ-गाउँमा पुगेर नमूनाहरु सङ्कलन गरी गोप्य रुपमा उपचार तथा परामर्श दिने गरेपछि संक्रमितहरु खुल्न थालेको धौलागिरी अस्पतालमा सञ्चालित एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदिप आचार्यले बताए ।

“एआरटी सेन्टरले संक्रमित आमाबाट जन्मेका बालवालिकालाई अस्थायी रुपमा पोषण गृहमा राखेर समेत स्यारसुसार गर्दै आइरहेकोे छ”, आचार्यले भने “संक्रमित भएको भन्ने लागेमा निर्धक्क भएर परीक्षणमा आउन सक्नुहुनेछ, हामीले गोप्य रुपमा औषधि उपचार गर्नेछौँ ।” सेन्टरले एचआइभी एड्स सम्बन्धी गैह्र सरकारी संस्थाको सहयोगमा संक्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटो खर्च र पोषण लगायतका धेरै सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सो सेन्टरमा अहिले खुलेर आएका संक्रमितहरु ४ सय ७ पुगेका छन् जसमध्ये १६४ ले बागलुङ सेन्टरबाट नियमित औषधि उपचार गरेका छन् भने अन्यले कुस्मा, म्याग्दीबाट सेवा लिइरहेका छन् । बाँकी संक्रमित परामर्शका लागि आइराखेका हुन्छन् ।

सेन्टरको तथ्याङक अनुसार संक्रमितको सङ्ख्या बढ्दो छ । गोप्यरुपमा परीक्षण तथा परामर्श पाउने भएपछि संक्रमितहरु खुलेर आउन थालेपछि तथ्याङ्कमा वृद्धि भएको छ । वर्षमा २० देखि २५ जना संक्रमित थपिनुले उनीहर विस्तारै खुल्दै आएको अनुमान गर्न सकिने धौलागिरी अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. रविनबाबु पौडेलले बताए । जिल्लामा हालसम्म ६४ संक्रमितको मृत्य भइसकेको छ ।

हाल उक्त सेन्टरलाई धौलागिरी पोजेटिभ समूह तथा एड्स हेल्थ केयर फाउण्डेसन तथा स्थानीय तहले आर्थिक सहयोग गर्दै आइरहेको छ । सेन्टरमा खुलेका संक्रमितलाई गोप्यरुपमा परामर्श, औषधि तथा अन्य सेवा प्रदान दिएपछी संक्रमितहरु खुल्न थालेको एड्स हेल्थ केयर फाउण्डेसनका प्रतिनिधि सुष्मा क्षेत्रीले जानकारी दिइन् । नेपालमा संक्रमितको सङख्या ३१ हजार २० रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com